नेप्से निरन्तर ओरालो लाग्दा आठ अर्बको राजस्व घट्यो

२८ आश्विन २०८०, आईतवार १२:२७

काठमाडौं । नेप्से परिसूचक र कारोबार रकममा निरन्तर कमी आएसँगै सरकारको ८ अर्ब रुपैयाँभन्दा बढी राजस्व गुमेको छ ।अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज २४ सम्म) सेयर बजारबाट सरकारलाई प्राप्त राजस्वमा आएको कमीका आधारमा यस्तो विश्लेषण गरिएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकअनुसार गत आर्थिक वर्षमा सेयर बजारबाट सरकारलाई कुल ३ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ मात्र राजस्व (पुँजीगत लाभकर र अग्रिम कर कट्टी) प्राप्त भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो करिब ८ अर्ब रुपैयाँले कम हो । आर्थिक वर्ष ०७८÷७९ मा सेयर बजारबाट ११ अर्ब ४० करोड रुपैयाँ राजस्व प्राप्त भएको थियो ।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा नेप्से परिसूचक घट्नुका साथै कारोबार रकममा पनि उल्लेख्य गिरावट आएपछि सेयर बजारबाट उठ्ने करमा ठूलो गिरावट आएको जानकार बताउँछन् । चालु आर्थिक वर्षको तीन महिना (गत साउन, भदौ र असोज २४ सम्म) मा सेयर बजारबाट ८२ करोड ६४ लाख ७५ हजार रुपैयाँ कर प्राप्त भएको छ । उल्लिखित कुल राजस्व रकम सेयर बजारबाट प्राप्त पुँजीगत लाभकर (सीजीटी) र अग्रिम करकट्टी (टीडीएस) मार्फत संकलन भएको हो ।

यसअनुसार एक वर्षभन्दा बढी समयमा सेयर बिक्री गर्ने लगानीकर्ताले नाफाको ५ प्रतिशत र कम अवधिमा बिक्री गर्नेले नाफाको साढे ७ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । तर संस्थागत लगानीकर्ताले नाफाको १० प्रतिशत लाभकर तिर्नुपर्छ । सामूहिक लगानी कोष (म्युचुअल फन्ड) ले भने कर तिर्नुपर्दैन । कुल सेयर कारोबारमा अधिकांश हिस्सा व्यक्तिगत लगानीकर्ताको छ भने संस्थागतको संख्या न्यून छ ।

गएको डेढ वर्षमा सेयरधनीको सम्पत्तिको मूल्य करिब १६ खर्ब रुपैयाँले घटेको छ । ०७८ भदौदेखि गत बिहीबार (असोज २५) सम्ममा दोस्रो बजारमा सूचीकृत सेयरको मूल्यमा आएको गिरावटका आधारमा यस्तो विश्लेषण गरिएको हो । उक्त अवधिमा सेयर बजारको आकार अथवा कुल बजार पुँजीकरण (स्टक एक्सचेन्जमा सूचीकृत सबै सेयरको बजार मूल्य) करिब १५ खर्ब ९६ अर्ब रुपैयाँले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*