प्रिमियममा आइपीओ निष्काशन गरेका सात कम्पनीको शेयरमूल्य निरन्तर घट्दै, कुनको कति ?

२८ आश्विन २०८०, आईतवार १७:१६

काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेका कम्पनीहरुको शेयर मूल्य निरन्तर ओरालो लागेको छ । पछिल्लो समय प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरी धितोपत्र दोस्रो बजारमा कारोबारमा आएका ७ कम्पनीमध्ये पहिलो कारोबारको तुलनामा ५ कम्पनीको शेयर मूल्य घटेको हो ।

धितोपत्र दोस्रो बजारमा घोराही सिमेन्ट इण्डष्ट्री, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्सको शेयरमूल्य घटेको हो । हाल प्रिमियममा आईपीओ निष्काशन गरेका कम्पनीहरूमध्ये घोराही सिमेन्टले सबैभन्दा महंगोमा शेयर निष्काशन गरेको थियो ।

घोराही सिमेन्टले अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४३५ रुपैयाँमा शेयर निष्काशन गरेको थियो । कम्पनीको पहिलो कारोबार भने प्रतिकित्ता ५६५।५० रुपैयाँमा खुला भएकोमा गत बिहीवार यसको मूल्य घटेर प्रतिकित्ता ४३४।८० रुपैयाँमा झरेको छ । जुन आईपीओ निष्काशन भएको मूल्यभन्दा पनि कम हो ।

त्यस्तै, रिलायबल नेपाल लाइफले प्रिमियमसहित प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ४८६।६० रुपैयाँमा भएको थियो तर गत बिहीवार यसको शेयर मूल्य घटेर ४२४।६० रुपैयाँमा कायम भएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियमसहित प्रतिकित्ता २४४ रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो । कम्पनीको पहिलो कारोबारको दिन ५०८ रुपैयाँमा शेयर कारोबार खुला भएकोमा गत बिहीवार शेयर मूल्य घटेर प्रतिकित्ता ४१० रुपैयाँमा झरेको छ ।

त्यस्तै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियमसहित प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ निष्काशन गरेकोमा पहिलो कारोबार दिन प्रतिकित्ता ४७५।२० रुपैयाँमा शेयर कारोबार खुला भएकोमा बिहीवार शेयर मूल्य घटेर ४४० रुपैयाँमा कायम हुन पुगेको छ ।

त्यसैगरी आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियमसहित प्रतिकित्ता २३६।९१ रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो  कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५२९।५० रुपैयाँमा भएकोमा बिहीवार भने कम्पनीको शेयर मूल्य ४८०।९० रुपैयाँमा झरेको छ ।

प्रिमियममा आईपीओ निष्काशन गरेका बाँकी दुई कम्पनीहरूको पहिलो कारोबारको तुलनामा शेयर मूल्य भने बढेको छ । माण्डु हाइड्रोपावरले प्रिमियमसहित प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३७३।२० रुपैयाँमा भएको थियो । गत विहीवार कम्पनीको शेयर मूल्य बढेर ४४०।१० रुपैयाँ पुगेको छ । त्यसैगरी, गत बिहीवार पहिलो कारोबार २६१।१० रुपैयाँमा भएको भगवति हाइड्रोपावरको शेयर मूल्य बढेर ३९७।२० रुपैयाँ पुगेको छ ।

 

One thought on “प्रिमियममा आइपीओ निष्काशन गरेका सात कम्पनीको शेयरमूल्य निरन्तर घट्दै, कुनको कति ?

  1. Umashankar sah says:

    Yo dherai galati Kam vayo yeslai sudhar garnus.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*