शेयर बजारमा ‘एनआरएन’को लगानी ओइरिने अपेक्षा

३० आश्विन २०८०, मंगलवार १५:४४

काठमाडौं । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुल आचार्य र डा. बद्री केसीले औपचारिक रुपमा गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेसँगै शेयर बजारमा लगानी गर्ने बाटो खुलेको छ। यससँगै गैरआवासीय नेपालीहरुले विदेशबाटै औपचारिक रूपमा शेयर कारोबार गर्न पाउने छन् । अब शेयर बजारमा शेयर डिमान्ड बढ्न सक्ने अड्कल गरिएको छ ।

८४ मुलुकमा हजारौं गैर आवासीय नेपालीहरू छन् । ११औँ महाधिवेशनमा भाग लिने महाधिवेशन प्रतिनिधिहरु नै चार हजार दुई सय २७ जना छन् । यसले गर्दा अब शेयर मार्केटमा तेस्रो मुलुकबाट पैसा आउन सक्ने सम्भावना बढेर गएको छ । अहिले पनि विदेशबाट कारोबार गर्न वाधा छैन तर, औपचारिक रूपमै नेपालमा व्यवसाय गर्न पाउने भएपछि शेयर बजारमा पनि एनआरएनको लगानी बढ्ने अपेक्षा गरिएको छ।

कुल आचार्यलाई जिल्ला प्रशासन कार्यालय पर्वतले असोज २८ मा र केसीलाई काठमाडौं प्रशासनले असोज २९ मा नागरिकता दिइसकेको थियो। एनआरएनएको ११औँ अन्तर्राष्ट्रिय सम्मेलनको अवसर पारेर प्रधानमन्त्री प्रचण्डले त्यसलाई औपचारिकता मात्रै दिएका हुन्।

गैर आवासीय नेपालीलाई नागरिकता दिने गरी गत जेठमा नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ मा व्यवस्था गरिएको थियो। ऐनको दफा ७ मा (क)मा गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था राखिएको छ ।

त्यसै व्यवस्थाको (१)मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने छ’ भनी उल्लेख छ।

यस प्रावधानले उनीहरुलाई गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने हक प्रदान गरेपनि राजनीति, मदाधिकार र सरकारी सेवामा सहभागि हुन बर्जित गरेको छ । नेपालमै आएर व्यापार व्यवसाय गर्न र सम्पत्ति राख्न भने उनीहरुलाई वाधा नपर्ने बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*