भारतका लगानीकर्ताहरुले १५ मिनेटमै गुमाए ३५ खर्ब ८० अर्ब रुपैयाँ

९ कार्तिक २०८०, बिहीबार ११:५०

भारतको बेञ्चमार्क शेयर परिसूचक सेन्सेक्स बिहीबार लगातार छैठौं दिन पनि ओरालो लागेको छ । अमेरिकी ट्रेजरी बिलको प्रतिफल बढिरहेको अनि मध्यपूर्व जारी द्वन्द्वको चिन्ताबिच विश्व शेयर बजार ओरालो लागिरहँदा सोको असर भारतीय बजारमा पोखिएको हो ।

बिहीबार बेञ्चमार्क बीएसई सेन्सेक्स ७०० अङ्कले घटेर ६३ हजार ३०० भन्दा तल आएको थियो । योसँगै बीएसईको बजार पूँजीकरण ३ हजार ५६ खर्ब ४० अर्ब भारुमा झरेको थियो । १५ मिनेटमै लगानीकर्ताहरूले ३५ खर्ब ८० अर्ब रुपैयाँ गुमाएका थिए । निफ्टी५० पनि घटेर १८ हजार ९००भन्दा तल झरेको थियो ।

आर्थिक र भूराजनीतिक दुबै तिरबाट विश्व शेयर बजारमा जोखिम बढेको छ ।

इजरायल र हमासबिच जारी द्वन्द्व अहिले बजारमा कमी आउनुको मुख्य कारण भएको विश्लेषकहरू बताउँछन् । अहिले नै विश्व अर्थतन्त्रमा मन्दी छाएको छ । इजरायल–हमासबिचको द्वन्द्व लामो समयसम्म चलिरह्यो भने यसले विश्वको आर्थिक वृद्धिदरलाई समेत प्रभावित गर्ने सम्भावना छ ।

निकट भविष्यमा भने भारतीय शेयर बजारको लागि मुख्य अवरोध उच्च स्तरमा उक्लिएको अमेरिकी ऋणपत्रको प्रतिफल हो । अहिले १० वर्षे अमेरिकी ऋणपत्रको प्रतिफल ५ प्रतिशत नजिक छ । यस्तोमा भारतको बजारमा पोर्टफोलियो लगानीकर्ताहरूले लगानी फिर्ता लैजाने सम्भावना धेरै छ ।

बुधबार बजार बन्द हुँदा अमेरिकी शेयर बजारमा कमी देखिएको थियो । फेडले ब्याजदर बढाउने सम्भावना उच्च नै रहँदा केही अमेरिकी प्रविधि कम्पनीहरूले आशातीत कमाई गर्न नसकेपछि बजार घटेको थियो ।

बिहीबार एसियाली बजारमा अधिकांश शेयर बजार रातोमै थिए । चीनमा साङ्हाई कम्पोजिट इन्डेक्स शून्य दशमलव ३ प्रतिशतले घटेको थियो । जापानमा निक्केई २२५ १ दशमलव ९१ प्रतिशतले घट्दा दक्षिण कोरियामा कोस्पी २ दशमलव ४ प्रतिशत तल आएको थियो । बिहीबार सिंगापुरदेखि थाइल्यान्ड र हङकङसम्म यस क्षेत्रका अधिकांश शेयर बजार रातोमै थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*