दशैं नसकिँदै दुई कम्पनीको आईपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

१० कार्तिक २०८०, शुक्रबार १०:४८

काठमाडौें । दशैं सकिन नपाउँदै दुई कम्पनीले आईपीओ निष्कासन गरेका छन् । दशैंको अन्तिम एवं कार्तिक शुक्ल पूर्णिमाको अघिल्लो दिन शुक्रबार मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेका हुन् ।

यी दुई कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेका हुन् । मुक्तिनाथ कृषि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

कम्पनीले पहिलो चरणको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो । यो आईपीओमा घटीमा १० कित्ता तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओको लागि आवेदन दिने म्याद २४ कार्तिकसम्म रहने बताइएको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम खालको जोखिम रहेको संकेत गर्छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय एवं सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

नेपाल वेयरहाउजिङ्गको आईपीओ

वेयरहाउजिङ्गले जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ ।

त्यसमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता शेयर निष्काशन गरेको हो । ्

त्यसैगरी, कम्पनीले २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि निष्काशन गर्ने भनेको छ। बाँकी रहेको ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ।

कम्पनीको आईपीओमा घटीमा १० कित्ता र बढीमा ५० हजार कित्तासम्म आवेदन दिन सकिने बताइएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले २४ कार्तिकसम्म आईपीओका लागि आवेदन दिन सक्नेछन् ।

यो कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*