तिहारलगत्तै ‘म्युचुअल फण्ड’हरुको लगानी क्षेत्रमा व्यापक फेरवदल गर्ने बोर्डको तयारी

१० कार्तिक २०८०, शुक्रबार ११:५९

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तिहारलगत्तै म्युचुअल फण्डको लगानी क्षेत्र फेरबदल गर्ने तयारी गरेको छ । दोस्रो बजारमा शेयरको माग कम भएको भन्दै लगानीकर्ताले गरेको गुनासो सम्बोधन गर्न बोर्डले त्यस क्षेत्रमा माग बढाउने गरी फेरबदलको तयारी गरेको हो ।

बोर्डका अध्यक्ष रमेश हमालले, ‘दोस्रो बजारमा माग बढाउनु पर्ने आवश्यकता ठहरिएको छ । जसका लागि म्युचुअल फण्डले गर्ने लगानीको सीमा परिवर्तन गर्ने तयारी हामीले गरेका छौँ’ भनेका छन् । उनले सामूहिक लगानी कोषले गर्ने लगानीका क्षेत्रमा फेरबदल गर्दै दोस्रो बजारमा लगानी फोकस गर्ने क्षेत्र निर्धारण गरिने बताए ।

यस विषयको निर्देशन तिहारलगत्तै जारी हुने अध्यक्ष हमालले जानकारी दिए । यसो गरेका खण्डमा केही हदसम्म दोस्रो बजारमा शेयरको माग बढ्ने अनुमान बोर्डले गरेको छ । अहिले सामूहिक लगानी कोषहरूले सामूहिक लगानी कोष नियमावली, २०६७ को व्यवस्था अनुरुप लगानी गर्दै आइरहेका छन् ।

सोही नियमावलीको नियम ३४ मा लगानी गर्न सक्ने क्षेत्र तोकिएको छ । जसमा ‘(क) बोर्डमा दर्ता भएको धितोपत्र, (ख) सार्वजनिक निष्कासन भएको धितोपत्र, (ग) धितोपत्र विनिमय बजारमा सूचीकृत धितोपत्र, (घ) नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी बोल तथा मुद्रा बजारका अन्य साधनहरू, (ङ) बैंक निक्षेप, (च) मुद्रा बजार उपकरण, (छ) बोर्डले तोकिदिएको अन्य क्षेत्र । (२) उपनियम (१) को खण्ड (छ) बमोजिमको क्षेत्र तोक्दा त्यस्तो क्षेत्रमा लगानी गर्दा पालना गर्नु पर्ने सर्त समेत बोर्डले तोकिदिनेछ । (३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै निश्चित क्षेत्रमा मात्र लगानी गर्ने गरी बोर्डबाट स्वीकृति प्राप्त योजनाले सोही क्षेत्रमा मात्र लगानी गर्नु पर्नेछ’ भनिएको छ । बोर्डले अब यसमा हेरफेर गर्ने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*