तीन महिनामा रु. ९ अर्ब १३ करोड बराबरको धितोपत्र निष्काशन, कस्तो छ पुँजि बजारको अवस्था ?

२४ कार्तिक २०८०, शुक्रबार १५:४८

काठमाडौं । तीन महिनामा नेपाल धितोपत्र बोर्डले ९ अर्ब १३ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले ३ अर्ब २० करोड बराबरको डिबेन्चर, २ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड, २ अर्ब ३३ करोड बराबरको साधारण शेयर र १ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद शेयर गरी कुल रु ९ अर्ब १३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको हो ।

गत आवको असोज मसान्तमा १८५८.३३ रहेको नेप्से सूचकाङ्क चालु आवको असोज मसान्तमा १८६४.६२ कायम भएको छ । यस वर्षको असोज मसान्तमा धितोपत्र बजार पुँजीकरण रु २८६१ अर्ब ५२ करोड कायम भएको छ । गत वर्षको सोही अवधिमा बजार पुँजीकरण रु २६७२ अर्ब ७९ करोड रहेको थियो ।

चालु आवको असोज मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६३ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ८७ जलविद्युत् कम्पनी २० उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन् । २०७९ असोजमा सूचीकृत कम्पनीहरूको संख्या २४२ मात्र रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६३.७ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १२.८, लगानी कम्पनीको ७०, उत्पादन तथा प्रशोधन उद्योगको ४.९, होटेलको ३०, व्यापारिक संस्थाका ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.१ प्रतिशत रहेको छ ।

नेप्सेमा २०८० असोज मसान्तमा सूचीकृत ७ अर्व ८४ करोड शेयरको चुक्ता मूल्य रु ७७२ अर्व ९० करोड रहेको छ । आर्थिक वर्ष २०८०।८१ को तीन महिनामा रु ३२ अर्ब ३ करोड बराबरको साधारण शेयर रु २ अर्ब ५४ करोड बराबरको बोनस शेयर र रु १ अर्व २० करोड बराबरको हकप्रद शेयर गरी कुल रु ३५ अर्व ७७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*