नेपाल वेयरहाउजिङ्गले मंसिर १० गतेदेखि आईपीओ निष्काशन गर्ने

१ मंसिर २०८०, शुक्रबार १०:३८

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले सर्वसाधारणका लागि मंसिर १० गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपछि अब सर्वसाधारणका लागि ११ लाख ४१ हजार २५० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

नेपाल वेयरहाउजिङ्गले जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । त्यसमध्ये वेयरहाउजिङ्गले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

यस्तै, कम्पनीले २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । बाँकी रहेको ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता शेयर मंसिर १० गतेदेखि कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा मंसिर १३ गते हुनेछ भने ढिलोमा मंसिर २४ गते हुने बताइएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा एवं सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरेर सी-आस्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*