नाफा बुकसँगै शेयर बजारमा सुधार, झण्डै आधा महिनापछि ५ अर्ब नजिकको शेयर कारोबार

२५ मंसिर २०८०, सोमबार १६:०५

काठमाडौं । साताको पहिलो एकैदिन १११ अंकले बढेको नेप्से दोस्रो दिनमै १५।४० अंकले घटेको छ।बजारमा यसअघिको नाफा बुकिङ गर्ने र बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ताहरू बराबरी जस्तै देखिएपछि कारोबार रकममा अत्यधिक वृद्धि देखिएको छ।

सोमबार पाँच महिनायताकै उच्च कारोबार भएको हो। यसअघि गत असार १७ गते ५ अर्ब १ करोड रूपैयाँको कारोबार भएको थियो। सोमबार ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार रूपैयाँको कारोबार भएको छ।यसअघि एक महिनायता दैनिक औसत ९० करोड हाराहारीमा सेयर कारोबार हुँदै आएको छ।

शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर धितो कर्जाको जोखिमभार एक सय ५० प्रतिशतबाट घटाएर एक सय २५ बनाएको थियो। यससँगै लगानीकर्ताहरूमा सकारात्मक सन्देश प्रवाह भएको थियो।

त्यस्तै, राष्ट्र बैंकले घर कर्जाको जोखिम भार समेत घटाएको थियो। यो निर्णयको कारण बजारमा थय ४० देखि ५० अर्ब रूपैयाँ कर्जा लगानीको लागि निस्किने गभर्नर महाप्रसाद अधिकारीले बताएका थिए।

बैंकहरूले मंसिर महिना नसकिँदै निक्षेपको ब्याजदर घटाएर सूचना प्रकाशित गर्न थालेपछि पनि बजारले वृद्धिको बाटो समातेको थियो। सोमबार तीव्र उतारचढाब सहित उच्च रकमको कारोबार भएकोले बजारको आगामी दिनको दिशा मंगलबार, बुधबारको कारोबारपछि मात्रै अनुमान गर्न सकिने देखिन्छ।

सोमबार नेप्से परिसूचक १५.४० अंकले घटेर १९४८.५७ बिन्दुमा बन्द भएको छ।

यसदिन ६१ वटा कम्पनीको मूल्य २ प्रतिशतदेखि १० प्रतिशतसम्म बढेको छ। त्यस्तै, ७० वटा कम्पनीको मूल्य २ प्रतिशतदेखि ७ प्रतिशतसम्म घटेको छ।सोमबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ३२८ रूपैयाँमा २५ करोड १५ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ३.१४ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा रियालबल नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५१९ रूपैयाँ ६० पैसामा १६ करोड ५७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से बढेको हो।

यसदिन विकास बैंक समूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशतले घटेको छ भने म्युचुअल फण्डसमूहको परिसूचक सर्वाधिक २.१६ प्रतिशतल बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*