‘नेप्से–३० इन्डेक्स’ को परीक्षण सकियो, सञ्चालन गर्ने अन्तिम तयारी हुँदै

रिना खत्री
२ पुष २०८०, सोमबार १३:०३

काठमाडौं । नेप्सेले नयाँ परिसूचक ‘नेप्से–३० इन्डेक्स’ को परीक्षणको सम्पूर्ण काम सकाएको छ । ‘नेप्से–३० इन्डेक्स’ को परीक्षण सम्पूर्ण सकिएपनि औपचारिक कारोबारमा भने आउन बाँकि नै छ ।सञ्चालक समितिले सञ्चालन मिति नतोक्दा यो सञ्चालनमा आउन नसकेको नेप्सेका प्रवत्ता मुराहरी पराजुलीले जानकारी दिएका छन् । आगामी बैठकमा एजेन्डामा राख्न सके नेप्सेले नयाँ परिसूचक ‘नेप्से–३० इन्डेक्स’ संचालनमा सक्ने पराजुली बताँउछन् ।

नेपालको पुँजी बजार इतिहासमा अलग्गै इन्डेक्स बनाएर कारोबारमा ल्याउन लागिएको यो पहिलो हो । अहिलेसम्म सूचीकृत सबै कम्पनीलाई एउटै बास्केटमा राखेर नेप्से सूचकमार्फत गणना हुँदै आएको छ । ‘नेप्से ३०’ सुरु भएपछि पुँजी बजारमा केही नयाँ अभ्यास र फरक शैली आँउन सक्ने देखिन्छ । नयाँ अभ्यास भएकाले आम सर्वसाधारणमा यस्को चासो बिशेष छ ।

नेप्सेका सिईओ कृष्ण बहादुर कार्कीले सम्पूर्ण काम कारवाही सकिएको र सञ्चालक समिति बैठक बसेर पारित गरी औपचारिक र नियमित कारोबार मिति निर्धारण गर्ने जानकारी दिएका छन् ।तर अहिलेसम्म नियमित सञ्चालनमा ल्याउने मिति भने तय नभएको उनको भनाई छ । नेप्से ३० सूचकांकबाट दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्तालाई भविष्यमा थप कारोबारयोग्य उपकरण प्राप्त हुने नेप्सेको भनाई छ।

नेप्सेले प्रति सेयर चुक्ता मूल्यभन्दा प्रति सेयर कितावी मूल्य बढी भएको, पछिल्लो तीन आर्थिक वर्ष ३ वर्ष खुद नाफामा रहेको, अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रहेको र त्यही वर्षको मूल्यवृद्धि दरभन्दाबढी भएको कम्पनीहरूलाई यो इन्डेक्स तयार गर्दा राखिने प्रस्ताव गरेको छ ।

त्यस्तै, कम्पनीको कम्तिमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने सेयरहरू (फ्रि–फ्लोट) को कुल बजार पुँजीकरणमा यो इन्डेक्समा राखिने कम्पनीको यस्तै सेयरहरूको बजार पुँजीकरण एक प्रतिशतभन्दा बढी हुनुपर्ने व्यवस्था गर्न लागिएको छ ।

त्यस्तै, यी कम्पनीमा सेयरधनीको संख्या कम्तिमा २० हजार हुनुपर्ने व्यवस्था गर्न लागेको हो । पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत २५ लाख रूपैयाँ वा सोभन्दा बढी रकमको कारोबार भएको, दैनिक औसत ५ हजार कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सो भन्दा बढी पटक कारोबार भएको कम्पनी यो इन्डेक्समा राख्न योग्य हुनेछन् । पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिनहरूमध्ये न्यूनतम ७५ प्रतिशत दिनहरूमा कारोबार भएका कम्पनीलाई यो इन्डेक्समा राख्न लागिएको हो ।

यस्तो इन्डेक्स गणना विधि पनि नेप्सेले सार्वजनिक गरेको छ । यस्तो इन्डेक्स तयार पार्दा माथि उल्लेखित छनोट विधि अनुसार आएका कम्पनीको फ्रि–फ्लोट बजार पुँजीकरण, पछिल्लो वर्षको प्रति सेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा प्रत्येकलाई निश्चित भार दिएर कुल भार गणना गरिने भएको छ ।

यसरी कम्पनी छान्दा हाल नेप्सेमा रहेका ६ वटा समूहगत परिसूचकबाट प्रत्येक समूहमा उच्च भार प्राप्त गर्ने ८÷८ वटा कम्पनी छानिने छन् । समूहगत परिसूचकमा सूचीकृत कम्पनीको संख्या ८ भन्दा कम भएमा विधि अनुसार उपलब्ध सबै कम्पनीलाई सो इन्डेक्समा समावेश गरिने भएको छ । यसरी छानिने कम्पनीको कुल संख्या ३० भन्दा बढी भएमा कम भार पाउने कम्पनीहरूलाई यो इन्डेक्सको गणनाबाट हटाइनेछ ।

तर, यसरी हटाउँदा पनि हरेक ६ समूहबाट भने कम्तिमा एक कम्पनी राख्ने नीति नेप्सेले लिएको छ । छानिएका कम्पनीको संख्या ३० भन्दा कम भएमा भने प्रत्येक समूहबाट आठभन्दा बढी कम्पनी छनौट नहुने देखिएमा सबै कम्पनीको कुल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने कम्पनी थप गरी कम्पनीको संख्या ३० पु¥याइने भएको छ ।
यो इन्डेक्समा रहेका कम्पनीहरू हरेक वर्ष दुई पटक पुनःमूल्यांकन हुनेछन् । हरेक वर्ष भदौ र फागुनको अन्तिम शुक्रबार यसरी पुनः मूल्यांकन गरेर कम्पनी परिर्वतन गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*