खारेजीको चेतावनीपछि एनसेलले प्राधिकरणलाई बुझायो शेयर खरिदबिक्रीका सबै कागजपत्र

५ पुष २०८०, बिहीबार ११:१८

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत शेयर किनबेचको दस्तावेज आजियटाले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएको छ । प्राधिकरणले खारेजीको चेतावनी दिएपछि एनसेल आजियटाले शेयर किनबेच सम्बन्धका कागजात दिएको बताइएको छ ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार आजियटाले शेयर किनबेचको कागजात बुझाएको र ती कागजात सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिमा समेत पुगिसकेको छ ।

प्राधिकरणले नै छानविन समितिलाई कागजात बुझाएको प्रवक्ता पौडेलले बताए । गएको मंसिर २१ मा बसेको मन्त्रिपरिषद बैठकले एनसेलको शेयर किनबेचबारे अध्ययन गर्न पूर्व महालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाएको थियो । समितिले ३० दिनभित्र प्रतिवेदन बुझाउने छ ।

प्राधिकरणले १४ मंसिरमा शेयर किनबेचबारे वास्तविकता बुझ्न एनसेललाई चिठी पठाए पनि उसले तीन सातासम्म वास्ता गरेको थिएन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*