सेबोनका सञ्चालकलाई अर्थका सह–सचिव रितेश शाक्यको दवावपूर्ण फोन, ‘प्रधानमन्त्रीको आदेश छ हस्ताक्षर गर्नुपर्यो’

५ पुष २०८०, बिहीबार १५:००

काठमाडौं । नेपाल धितोपत्र बोर्डको हिजो बिहानको बैठक असफल भएपछि अध्यक्ष रमेश हमालले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स जारी गर्न अस्त्र प्रयोग गरेका छन् । नयाँ प्रसास स्वरुप प्रधानमन्त्री प्रचण्डको नाम भजाएर अर्थ मन्त्रालयका सह–सचिव रितेश शाक्यमार्फत दवावपूर्ण टेलिफोन गराएर बैठक नै नबसी हस्ताक्षर गराउने प्रयास गरेका छन् ।

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने विषयमा प्रधानमन्त्री प्रचण्ड दिनु हुँदैन भन्नेमा स्पष्ट छन् । यसअघि सेबोनले जबरजस्ती नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन खोज्दा प्रधानमन्त्री प्रचण्ड आफैले पत्र लेखेर तत्काल रोक्न लगाएका थिए । अहिले अर्थमन्त्री डा. प्रकाशशरण महत समेत नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्नु हुँदैन भन्ने स्पष्ट छन् । रोचक कुरा चाही प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री डा.महत दुवै जना लाइसेन्स नदिने भन्ने कुरामा स्पष्ट भएपनि अर्थ मन्त्रालयको तर्फबाट बोर्डमा प्रतिनिधित्व गर्ने सञ्चालक सह–सचिव रितेश शाक्य भने जसरी पनि लाइसेन्स दिएरै छोड्ने अभियानमा अझै सक्रिय छन् ।

अर्थमन्त्रालयबाट बोर्डमै फर्केको स्टक एक्सचेन्जको लाइसेन्स सम्बन्धी प्रक्रियो पुनः अघि बढाउन बोर्डका अध्यक्ष रमेश हमालले हिजो बुधबार विहान बोर्ड बैठक राखेका थिए । सो बैठकमा सहभागी अधिकांश सञ्चालकहरुले विवाद र घुस सेटिङको विषय भएकोले तत्काल यस विषयमा अघि नबढ्ने भन्दै बैठक टुंङ्ग्याए ।

तर, अध्यक्ष हमालले आज फेरि बैठकबाट निर्णय नभए पनि आफैले अर्थ मन्त्रालयलाई पठाउने जवाफ तयार पारेका छन् । सो जवाफ तयार पारेपनि सञ्चालक समितिको बैठकबाट निर्णय गराउनुपर्ने भएपछि अर्थ मन्त्रालयका सह–सचिव रितेश शाक्यलाई प्रयोग गरेर विभिन्न सञ्चालकहरुलाई टेलिफोन गरी प्रधानमन्त्री प्रचण्डको आदेश भएकोले जसरी पनि आजै हस्ताक्षर गर्न दवाव दिएको एक सञ्चालकले बताए ।

माओवादी पृष्ठभूमिसहित अर्थमन्त्रालयमा सह सचिवको रुपमा कार्यरत रितेश शाक्य अहिले नेपाल धितोपत्र बोर्डका सञ्चालक समेत हुन् । माओवादी नै भएपनि घुस सेटिङका जस्तोसुकै काम गर्ने शाक्य धितोपत्र बोर्डबाट सरकारी लगानीको नेपाल स्टक एक्सचेन्जलाई डुबाउने गरी नयाँ स्टक एक्सचेन्जको लाईसेन्स खुलाउने मुख्य योजनाकार मध्येका एक हुन् । बोर्डका वर्तमान अध्यक्ष हमालको पदावधी सकिएपछि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन नसकिने भएकोले शाक्य आफैले प्रधानमन्त्री प्रचण्डको हावाला दिएर हस्ताक्षर गर्न दवाव दिएका हुन् । उनले आफूलाई प्रधानमन्त्री प्रचण्डले सबैलाई हस्ताक्षर गराएर काम फत्ते गर्न जिम्मेवारी दिएकोले खुरुखुरु हस्ताक्षर गरिदिन आग्रह गरिएको विश्वस्त स्रोतले जनाएको छ ।

यस सम्बन्धमा जिज्ञाशा राख्दा सह–सचिव शाक्यले आफूले कसैलाई पनि जबरजस्ती हस्ताक्षर नगराएको बताए । उनले भने, ‘होइन छैन, मन्त्रालयले पठाएको पत्रको जवाफ दिऔं भनेको हो, कसैलाई जबरजस्ती हस्ताक्षर गराएको छैन ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*