अन्ततः हमालको योजना असफल, नयाँ स्टक एक्सचेन्जको विषयमा हुन सकेन निर्णय, सह सचिव शाक्य छानविनमा

६ पुष २०८०, शुक्रबार १५:२३

काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको विषयमा सहमति जुट्न नसकेपछि आजको बैठक पनि लगभग बिना निष्कर्ष टुंगिएको छ । आज विहान बसेको बैठकमा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुर कृष्ण श्रेष्ठ अनुपस्थित भएका छन् । साथै बैठकमा उपस्थित अर्का सञ्चालक नेपाल राष्ट्र बैंकका निर्देशक डा. प्रकाश श्रेष्ठले नयाँ स्टक एक्सचेन्जको विषयमा निर्णय गर्न नसकिने भन्दै आफ्नो धारणा राखेपछि आजको बैठकले पनि नयाँ स्टक एक्सचेन्जको लागि मार्ग प्रशस्त गर्न सकेन ।

हिजोदिनभर प्रधानमन्त्री प्रचण्डको नाम लिएर थर्काउने र गलाउने काम गरेकोमा आज विहान पुनः बैठक राखेर नयाँ स्टक एक्सचेन्जको निर्णय गराउने हमालले प्रयास गरेका थिए । तर, आजको योजना समेत असफल भएपछि अन्ततः हमाल फेरि पनि असफल भएका छन् ।

अर्थ मन्त्रालयका सह सचिव रितेश शाक्यले आज पनि बैठकबाट नयाँ स्टक एक्सचेन्जको विषयमा पारित गर्ने प्रयास गरेका थिए । तर, फेरि पनि असफल भएपछि हिस्स परेका छन् ।

उता, प्रधानमन्त्री प्रचण्डको नाम अनावश्यक रुपमा मुछेको विषयमा सह सचिव शाक्यमाथि प्रधानमन्त्री कार्यालयले छानविन थालेको छ । स्रोतका अनुसार रितेश शाक्यलाई प्रधानमन्त्री प्रचण्डले कुनै निर्देशन समेत दिएका थिएनन् । अख्तियारमा थुप्रै मुद्दा परेको र घुस सेटिङ गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले समेत नरुचाएको विषय भएकोले पनि शाक्यले पदीय दुरुपयोग गरी अनावश्यक रुपमा प्रधानमन्त्रीको नाम मुछेकोमा छानविन हुन लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*