साताको शेयर बजारः २१ को विन्दुमा उक्लियो, कुन क्षेत्रको उपसूचकमा देखियो सुधार ?

६ पुष २०८०, शुक्रबार १६:१६

काठमाडौं। अघिल्लो साताको तुलनामा यो साता नेप्से परिसूचक ५.७ प्रतिशतले बढेको छ । नेप्से परिसूचक १९९४ अंकमा रहेर गत साताको कारोबार बन्द भएकोमा यो साता २१०९ मा पुगेर बन्द भएको छ ।

यो साता ५ दिन सेयर कारोबार भएकोमा ४ दिन बजार बढ्यो भने अन्तिम कारोबार दिन बिहीबार घट्यो । आइतबार २७, सोमबार ३८, मंगलबार ४६, बुधबार ३५ अंक बढेको नेप्से बिहीबार भने ३२ अंक घट्यो । समग्रमा साताभर बजार ११५ अंक बढ्यो ।

नेप्से परिसूचक मात्रै बढेको छैन, कारोबार रकम उल्लेख्य भएको छ । यो साताका हरेक दिन ५ अर्बभन्दा बढीको कारोबार भयो । आइतबार ५ अर्ब १५ करोड, सोमबार ६ अर्ब ८६ करोड, मंगलबार ५ अर्ब ९८ करोड, बुधबार ७ अर्ब र बिहीबार ६ अर्ब २७ करोडको कारोबार भयो । समग्रमा साताभर ३१ अर्ब २७ करोडको कारोबार भयो । गत साता पाँच दिन नै बजार खुल्दा १६ अर्ब ६७ करोडको कारोबार भएको थियो ।

दैनिक हुने गरेको कारोबारमा बुधबारको कारोबार करिब १ वर्ष यताकै उच्च हो । सो दिन ७ अर्ब ९५ लाख रुपैयाँको कारोबार भएको छ, जुन रकम २६ पुस २०७९ यताकै उच्च हो । गत वर्षको २६ पुसमा ७ अर्ब २९ करोडको कारोबार भएको थियो ।

यो साता समग्र सेयर बजारको परिसूचकमा उल्लेख्य वृद्धि देखिए पनि ६ वटा समूहको वृद्धिदर नेप्सेको भन्दा तल रह्यो भने बाँकी ६ वटा समूहको वृद्धिदर नेप्सेको भन्दा उच्च रह्यो । बजारमा विभिन्न कम्पनीका सेयरलाई १२ वटा समूहमा विभाजित गरिएको छ । म्युचुअल फण्डसहित १३ समूह छन् ।

वृद्धिदरमा नेप्सेलाई ‘ओभरटेक’ गरेका समूहमा होटल, हाइड्रोपावर, माइक्रोफाइनान्स, उत्पादन, व्यापार र लगानी छन् । समग्रमा यो साता नेप्से ५.७ प्रतिशतले बढ्दा यी ६ समूहको वृद्धिदर सोभन्दा धेरै रह्यो । यीमध्ये पनि उत्पादन समूह सबैभन्दा धेरै १९ प्रतिशतले बढेको छ । बैंकिङ, विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा र अन्य समूह भने वृद्धिदरका आधारमा नेप्सेभन्दा पछि परे ।

उत्पादन समूहमा ८ वटा कम्पनी पर्दछन् । बोटलर्स नेपाल (बालाजु), नेपाल ल्युब आयल, बोटलर्स नेपाल (तराई), युनिलिभर नेपाल, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, घोराही सिमेन्ट र सोनापुर सिमेन्ट यस समूहका कम्पनी हुन् । यीमध्ये नेपाल ल्युब आयलको कारोबार नै भएको छैन भने अरु ७ वटै कम्पनीको मूल्य बढेको छ ।

अन्य समूहका तुलनामा यो समूहका कम्पनीहरुको सेयर मूल्य महँगो नै हुने गरेको छ । युनिलिभर बजारकै सबैभन्दा महँगो (प्रतिकित्ता ४४ हजार रुपैयाँ) मूल्य भएको कम्पनी हो ।

यो समूहमा पनि बोटलर्स नेपाल बालाजुको मूल्य एक सातामा सबैभन्दा धेरै ६१ प्रतिशत बढेको छ । साताभरका पाँचै दिन १० प्रतिशतका दरले मूल्य बढ्यो । यो कम्पनीको उच्च मूल्यवृद्धिले समग्र समूहको वृद्धिमा ठूलो मद्दत पुगेको हो । यो कम्पनीको मूल्य बढ्नुको मुख्य कारण ः मजबुत प्रतिसेयर नेटवर्थका बीच सस्तो मूल्य रहनु हो । विगतमा लामो समय कारोबार नहुँदा कम्पनीको मूल्य सस्तोमा रहिरहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*