मेलम्ची पाइप फुट्दा बबरमहल जलमग्न, पूर्वाधारको गुणस्तरमाथि गम्भीर प्रश्न

३० माघ २०८१, बुधबार १६:००

काठमाडौँ । काठमाडौँको बबरमहल क्षेत्र आज मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि जलमग्न भएको छ । काठमाडौँ जिल्ला अदालत नजिकै रहेको मुख्य पाइप फुट्दा बन परिसर, विशेष अदालत र काठमाडौँ जिल्ला अदालतलगायतका सरकारी कार्यालय डुबानमा परेका छन् । सो पाइप फुटेपछि काठमाडौँको खानेपानी वितरण अवरुद्ध भएको छ भने स्थानीय बासिन्दा र कार्यालयहरू प्रभावित भएका छन् ।

मेलम्ची खानेपानीको मुख्य पाइप फुट्नुले सरकारी पूर्वाधारको गुणस्तर र काम गर्ने तरिकामा गम्भीर प्रश्न खडा गरेको छ । अव्यवस्थित रूपमा गरिएका कामका कारण यस्तो अवस्था आएको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् । हालै काठमाडौँमा बिजुलीका तारहरू अन्डरग्राउन्ड गर्नेदेखि लिएर पानीका पाइपहरू भूमिगत राख्ने काम भइरहेको छ, तर उचित योजना र निगरानीको अभावमा यस्ता परियोजनाहरू दिगो बन्न नसकेको देखिएको छ ।

बबरमहल क्षेत्रमा जलमग्न अवस्थालाई नियन्त्रणमा लिन सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ । यद्यपि, सरकारी निकायले दिगो समाधानतर्फ ध्यान नदिँदा भोलि अझ गम्भीर क्षति हुनसक्ने चिन्ता बढेको छ । स्थानीयहरूका अनुसार पाइप फुटेर आएको क्षतिले मेलम्ची खानेपानी आयोजनाको गुणस्तरमाथि पनि प्रश्न उठाएको छ ।

खानेपानी वितरण प्रणालीमा दीर्घकालीन योजना र उच्च गुणस्तरको सामग्रीको प्रयोग नगरीकन यस्ता समस्या दोहोरिरहनेछन् । वर्तमानमा गरिएको काम अव्यवस्थित र कम गुणस्तरीय हुँदा दिगो समाधानको सट्टा थप समस्याहरू निम्त्याइरहेको छ ।

स्थानीय बासिन्दा र विज्ञहरूले सरकारले दीर्घकालीन सोच राखेर पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले सरकारको असंलग्नता र अव्यवस्थित काम गर्ने शैलीप्रति आक्रोश व्यक्त गर्दै मेलम्ची आयोजना लगायत अन्य पूर्वाधार विकासमा दिगो योजना आवश्यक भएको बताएका छन् । अहिलेको घटनाले भविष्यमा अझ ठूलो समस्या निम्त्याउन सक्ने चेतावनी दिंदै उनीहरूले सरकारलाई तुरुन्तै ध्यान दिन आग्रह गरेका छन् ।

One thought on “मेलम्ची पाइप फुट्दा बबरमहल जलमग्न, पूर्वाधारको गुणस्तरमाथि गम्भीर प्रश्न

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*