बजारमा हरियालीको निरन्तरताः साढे १० अर्बको कारोबार, उत्साहित लगानीकर्ता

काठमाडौँ । पुँजी बजारमा हरियालीले निरन्तरता पाएको छ । बजारले लय लिएसँगै लगानीकर्तामा उत्साह थपिएको हो । बजार आज दिनभर उतार चढाब भएको देखिएको छ । कारोबारमा आएको रौनकले बजारले सकारात्मक यात्रा तय गर्ने आम लगानीकर्ताहरुको विश्वास रहेको छ।
लामो समयदेखि साइडवेजमा रहेको बजारमा हाल ब्याजदर न्यून विन्दुमा आएसँगै लगानीकर्ताको चासो बढेको हो । बैंकबाट कर्जा लिएर शेयरमा लगानी गर्नेहरुको संख्या समेत बढ्दै गइरहेको छ । अर्थतन्त्र लयमा फर्कँदै गएकाले बजारमा थप रौनक ल्याउने अपेक्षा गरिएको छ ।
मौद्रिक नीतिको फागुन समीक्षाप्रति लगानीकर्ताको चासो बढेको छ । समीक्षामा सेयर धितो कर्जाको जोखिमभार, व्यक्तिगत लगानीकर्ताको सीमा र बैंकहरुलाई अल्पकालीन लगानीको अनुमति जस्ता विषयमा स्पष्टता आएमा बजारले नयाँ उचाई लिन सक्ने विश्लेषकहरुको धारणा छ । आम लगानीकर्ता गभर्नर महाप्रसाद अधिकारीको अन्तिम मौद्रिक नीतिको समीक्षाप्रति उत्सुक रहेका छन् । फागुन १५ गतेभित्र समीक्षा आउने नियम भएकाले लगानीकर्तामा कौतुहलता बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ११.९१ अकंले बढेर २७३९.८२ बिन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको १ करोड ८२ लाख ३० हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४३ करोड ७० लाख ६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन बैंकिङ समूहको ०.२२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.२४ प्रतिशत, जीवन बीमा समूहको १.७४ प्रतिशत, निर्जीवन बीमा समूहको ०.३० प्रतिशत, अन्य समूहको ३.६७ प्रतिशत र व्यापार समूहको ०.४१ प्रतिशतले शेयर मूल्य बढेको छ । अन्य समूहहरु भने राताम्य भएका छन् ।
आज ८७ कम्पनीको शेयर मूल्य बढ्दा १४९ कम्पनीको बढेको छ ।