भो, अति भो ! ईभी माइक्रोले थप विद्यार्थीको ज्यान नलियोस्

दिपक विष्ट
३ असार २०८२, मंगलवार १६:५६

समाचार टिप्पणी

राजधानीको व्यस्त कलंकी क्षेत्रस्थित इडिफाई इन्टरनेसनल स्कुलको परिसर सोमबार दिउँसो हृदयविदारक दृश्यमा बदलियो । चार दिनअघि मात्र स्कुलले किनेको एसआरएम ब्रान्डको ईभी माइक्रोभ्यानले गेटअगाडि उभिरहेका विद्यार्थीहरूलाई एकाएक ठक्कर दियो । नौ वर्षीया बालिका सोनाक्षी यादवको घटनास्थलमै ज्यान गयो । अरू सात जना विद्यार्थी र कर्मचारी गम्भीर घाइते भए । जुन दुर्घटना एकपटक पुनः प्रश्न खडा गर्छ यस्ता प्रविधिगत समस्या बोकेका विद्युतीय सवारीसाधन विद्यालय जस्तो सम्वेदनशील क्षेत्रमा कति सुरक्षित छन् ?

दुर्घटनापछि घटना स्थलमा देखिएको दृश्यले हरेक अभिभावक, शिक्षक, विद्यार्थी र सर्वसाधारणलाई स्तब्ध बनाएको छ । एकातिर आधुनिकताको नाममा सस्तो मूल्य र आकर्षक डिजाइन भन्दै भित्रिएका विद्युतीय सवारीसाधनलाई विद्यालयहरूले आफ्ना विद्यार्थी ओसारपसार गर्न प्रयोग गरिरहेका छन् भने अर्कातिर यिनै सवारीका गम्भीर प्रविधिगत समस्या विद्यार्थीहरूको जीवनमाथि खतरा बनेर देखा परिरहेका छन् । हाल नेपालमा सवारी साधन बिक्री वितरण गर्ने अधिकांश कम्पनीले ईभी माइक्रो ल्याएका छन् ।

विद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई सुरक्षित वातावरण दिनु प्रमुख जिम्मेवारी हो । तर आजभोलि सस्तो मूल्यमा पाइने नाममा नयाँ प्रविधि भित्रिएका एसआरएम जस्ता ब्रान्डका गाडी विद्यालयहरूमा प्रयोग हुन थालेका छन्, जुन आफैँमा जोखिमपूर्ण निर्णय हो । भर्खरै खरिद गरिएका यी गाडीहरूले देखाएको प्रविधिगत कमजोरीले यस्ता गाडी विद्यालयको सुरक्षामा उपयुक्त छैनन् भन्ने तथ्य पुष्टि गर्छ ।

एसआरएम ब्रान्डका गाडीहरू नेपालमा भिजी मोटर्सले आयात गरी बिक्री वितरण गर्दै आएको छ । प्रारम्भिक दिनहरूमा आकर्षक डिजाइन र कम मूल्यका कारण यी गाडीहरूले निकै चर्चा बटुले । धेरै विद्यालयहरूले विद्यार्थी ओसारपसारका लागि यिनै गाडी किने । तर पछिल्लो घटनाक्रमले मूल्यभन्दा माथि सुरक्षा हो भन्ने चेत नआउँदा यस्तो भयावह घटना निम्तिएको हो ।

दुर्घटनाको विवरण हेर्दा चालक हर्कबहादुर कार्कीले गाडीको एक्सिलेटर थिच्नेबित्तिकै भ्यान एक्कासी अगाडि हुत्तिएको जनाएका छन् । उनका अनुसार स्टेयरिङ, ब्रेक र अन्य नियन्त्रण प्रणालीले कुनै प्रतिक्रिया देखाएनन् । चार दिनअघि मात्रै किनेको नयाँ भ्यान यसरी नियन्त्रण बाहिरिनु सवारीको गुणस्तर र प्रविधिगत क्षमतामाथि गम्भीर प्रश्न उठ्न थालेको छ ।

एसआरएम माइक्रोभ्यानको प्रविधि र सुरक्षासम्बन्धी गुनासो नयाँ होइन । केही महिना यता देशभरबाट यस्ता गाडीहरूमा स्टेयरिङ जाम हुने, अचानक गति बढ्ने, ब्रेक नलाग्ने जस्ता समस्या देखिएको गुनासो सार्वजनिक भइरहेका थिए । तर कम्पनीले भने यस्ता समस्यालाई प्रयोगकर्ताको गल्ती भन्दै पन्छाउँदै आएको छ । कम्पनीको यस्तो व्यवहारले समस्यालाई झनै गम्भीर बनाइरहेको छ ।

नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण तीव्र गतिमा बढिरहेको छ । पेट्रोलियम इन्धनको बढ्दो मूल्य र वातावरणीय चिन्ताका कारण धेरै मानिस विद्युतीय सवारीप्रति आकर्षित भइरहेका छन् । विद्यालयहरू समेत यस प्रवृत्तिमा सक्रिय रूपमा लागेका छन् । किनभने इलेक्ट्रिक गाडी सस्तो, चलाउन सजिलो र दीर्घकालीन रूपमा खर्च कम लाग्ने बताइन्छ । तर प्रविधि र सुरक्षातर्फ यति गम्भीर समस्या देखिएपछि यस्ता सवारी विद्यालयका लागि उपयुक्त कत्तिपय अवस्थामा हुन सक्दैनन् भन्ने प्रष्ट भएको छ ।

विद्यालय एउटा यस्तो सम्वेदनशील स्थान हो, जहाँ विद्यार्थीहरूको सुरक्षा सबैभन्दा पहिलो प्राथमिकतामा पर्नुपर्छ । दिनहुँ सयौं बालबालिका ओसारपसार गरिन्छ, जसको लागि प्रयोग गरिने सवारीसाधन उच्च मापदण्ड अनुसारको हुनुपर्छ । प्रविधिगत रुपमा परिपक्वता प्राप्त नगरेका, पर्याप्त परीक्षण नभएका र गम्भीर गुनासो आइरहेका गाडीहरू विद्यालयमा प्रयोग गर्नु आफैँमा गम्भीर लापरवाही हो ।

यसपटकको दुर्घटनाले एसआरएम ब्रान्डमाथि मात्रै प्रश्न उठाएको उठाएको छैन । विद्यालय व्यवस्थापन, नियामक निकाय र नीति निर्माण तहमा समेत गम्भीर पुनर्विचारको माग गरेको छ । विद्युतीय सवारी खरिद गर्दा कुन ब्रान्ड कत्तिको सुरक्षित छ भन्ने मूल्याङ्कन नगरी केवल मूल्य हेरेर निर्णय गर्नुले यस्तो दुर्घटना निम्त्याउन सक्छ भन्ने यो तीतो यथार्थ हो ।

नेपालमा सवारीसाधन भित्रिँदा पर्याप्त परीक्षण र गुणस्तर प्रमाणीकरण नगर्ने पुरानो प्रवृत्ति अझै कायम छ । आयातकर्ताहरूको मूल ध्यान बजार विस्तारमा हुन्छ, जसले गर्दा प्रविधि परीक्षण, मर्मतसम्भार पूर्वतयारी र गुणस्तर मापदण्डमा गम्भीर कमजोरी देखिन्छ । नियामक निकायहरूको निरीक्षण प्रणाली समेत कमजोर भएकाले यस्ता त्रुटिपूर्ण प्रविधि बोकेका सवारी सजिलै भित्रिन्छन् ।

एसआरएम ब्रान्डमाथि गुनासो उठिरहेको यो पहिलो घटना होइन । यसअघि पनि कतिपय उपभोक्ताले सामाजिक सञ्जालमार्फत यिनै समस्याहरू सार्वजनिक गरेका थिए । तर कम्पनीले गम्भीरतापूर्वक सुधारको काम गरेको देखिँदैन । जब यस्ता प्रविधिगत कमजोरी बोकेका गाडीहरू विद्यालय जस्ता क्षेत्रमा प्रयोग हुन्छन्, तब यसको मूल्य एक निर्दोष बालिकाको ज्यानले चुकाउनु पर्ने हुन्छ ।

सस्तो मूल्यकै लोभमा कतिपय विद्यालय प्रशासनले अध्ययन नगरी गाडी खरिद गर्ने प्रवृत्तिले पनि यस्तो दुर्घटनाको जोखिम बढाएको देखिन्छ । विद्युतिय गाडीमा प्रयोग हुने ब्याट्री प्रणाली, मोटर कन्ट्रोलर, ब्रेकिङ सिस्टम लगायतका प्रविधि उच्चस्तरीय हुन आवश्यक हुन्छ । अझ विद्यालय जस्तो क्षेत्रमा प्रयोग गर्न लागिएको हो भने यसको परीक्षण झनै कडाइका साथ हुनुपर्छ ।

तर नेपालमा हालसम्म विद्युतीय सवारीका लागि विद्यालयहरूमा प्रयोग गर्न मिल्ने वा नमिल्ने भनेर छुट्टै मापदण्ड बनाइएको छैन । जथाभावी सस्तो गाडी ल्याएर विद्यालयमा विद्यार्थी ओसारपसार गर्नु लापरवाहीको पराकाष्टा हो । एकातिर विद्यालय प्रशासनले विद्यार्थीका अभिभावकबाट महँगो शुल्क असुल्ने गर्छन्, तर अर्कातिर आफ्ना बालबालिकाको सुरक्षामा सस्तो प्रविधि बोकेको गाडी प्रयोग गर्छन् ।

सरकारका सम्बन्धित निकायहरू जस्तै यातायात व्यवस्था विभाग, गुणस्तर तथा नापतौल विभाग, सडक सुरक्षा परिषद्, शिक्षा मन्त्रालय जस्ता निकायहरूले यस्ता दुर्घटनाबाट पाठ सिकेर विद्यालयमा प्रयोग गर्न मिल्ने सवारीसाधनका लागि छुट्टै मापदण्ड र अनुमोदन प्रक्रिया सुरु गर्नुपर्छ ।

बालबालिकाको सुरक्षा खेलवाड गर्ने विषय होइन । विद्यालय भित्र सवारीसाधन चलाउँदा चालक दक्ष र अनुभवी हुनु अनिवार्य हुन्छ भने गाडीको प्रविधि पूर्णरूपमा सुरक्षित हुन आवश्यक हुन्छ । नयाँ प्रविधिका नाममा परीक्षण नभएका गाडी विद्यार्थी बोकेर गन्तव्यतर्फ धाइरहेका छन्, जुन कुनैपनि हिसाबले स्वीकार्य होइन ।

विगतमा पनि यस्ता त्रुटिपूर्ण प्रविधिका कारण सवारी दुर्घटनामा ज्यान गुमाएका बालबालिका र अभिभावकको चित्कार गुञ्जिरहेको छ । तर अझैसम्म नतिजा आउने गरी सुधार प्रयास भएका छैनन् । प्रविधि विकास हुँदैमा त्यसको परीक्षण प्रक्रिया छोट्याउनु र मूल्य सस्तो भएमा गुणस्तर अवमूल्यन गर्नु सवारी सुरक्षाको दृष्टिले विनाशकारी हुन सक्छ भन्ने यथार्थ हाम्रै आँखाअगाडि देखिँदैछ ।

विद्यालयहरू जसरी परीक्षाफल राम्रो ल्याउन कडाइ गर्छन्, त्यसरी नै आफ्ना विद्यार्थी ओसारपसार गर्ने सवारीसाधनमा पनि समान गम्भीरता अपनाउनुपर्छ । किनभने पढाइ सुधार्ने अर्को अवसर पाइन्छ तर गुमेको ज्यान फर्किँदैन ।

सम्बन्धीत समाचार:

एसआरएम ईभी माइक्रोले स्कुलमा मच्चायो आतंकः नाबालिकाको ज्यान गयो, सात जना घाइते

एसआरएम ब्रान्डका ईभी माइक्रो असुरक्षित, यात्रुको ज्यान जोखिममा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*