भारतमा नेपाली सिमेन्टको माग बढ्योः ९ महिनामा २ अर्ब २२ करोडको निर्यात, व्यवसायी किन छैनन् उत्साहित ?

काठमाडौँ । नेपालबाट सिमेन्टको निर्यात पछिल्लो समय उल्लेखनीय रूपमा बढ्दै गएको छ । केही समयअघि भारतीय गुणस्तर चिह्न नवीकरणमा आएको अवरोधका कारण निर्यातमा सामान्य गिरावट देखिए पनि चालु आर्थिक वर्षमा भने सिमेन्ट उद्योगले पुनः गति समातेको हो ।
भारतीय बजारमा नेपाली सिमेन्टप्रतिको माग क्रमशः विस्तार हुँदै गएको तथ्यांकहरूले देखाउँछन् । चालु आर्थिक वर्षको २०८२ साउनदेखि चैतसम्म नेपालले कुल २ अर्ब २२ करोड ७० लाख ४० हजार रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात गरेको छ । यसमध्ये १ अर्ब ६१ करोड ३६ लाख ९ हजार रुपैयाँ बराबरको ७ लाख २७ हजार ७३५ मेट्रिक टन पोर्टल्यान्ड सिमेन्ट भारततर्फ निर्यात भएको छ भने ६१ करोड ३४ लाख ३१ हजार रुपैयाँ बराबरको २ लाख ८३ हजार ८६१ मेट्रिक टन क्लिंकर निर्यात भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा पोर्टल्यान्ड सिमेन्टको निर्यातमा उल्लेखनीय वृद्धि देखिएको छ । अघिल्लो वर्ष सोहि अवधिमा १ अर्ब ५५ करोड १३ लाख ९० हजार रुपैयाँ बराबरको पोर्टल्यान्ड सिमेन्ट निर्यात भएको थियो भने क्लिंकरको निर्यात ६४ करोड २० लाख ६६ हजार रुपैयाँ बराबर रहेको थियो । यस वर्ष क्लिंकर निर्यातमा केही गिरावट आए पनि तयारी सिमेन्टको निर्यात बढ्नुले नेपाली ब्रान्डको सिमेन्टप्रति भारतीय बजारमा विश्वास विस्तार भइरहेको संकेत दिएको छ ।
क्लिंकरभन्दा पोर्टल्यान्ड सिमेन्ट निर्यात गर्नु आर्थिक रूपमा बढी लाभदायक छ । क्लिंकरलाई कच्चा पदार्थको रूपमा प्रयोग गरी तयारी सिमेन्ट उत्पादन गर्दा करिब १५ प्रतिशतसम्म अतिरिक्त मूल्य सिर्जना हुने गर्दछ । यही कारणले उद्योगीहरू अब क्लिंकर निर्यातभन्दा आफ्नै ब्रान्डमा पोर्टल्यान्ड सिमेन्ट उत्पादन गरी निर्यात गर्नतर्फ केन्द्रित हुन थालेका छन् ।
नेपालमा सिमेन्ट उद्योगको सम्भावना अत्यन्तै ठूलो मानिन्छ जसको प्रमुख आधार देशभर फैलिएका चुनढुंगा खानीहरू हुन् । विगतमा नेपाली उद्योगीहरू क्लिंकरका लागि भारतमा निर्भर थिए । तर, खानी तथा भूगर्भ विभागले उद्योगीहरूलाई खानी सञ्चालनका लागि अनुमति दिन थालेपछि देशभित्रै क्लिंकर उत्पादन सुरु भयो । यसले उत्पादन लागत घटाउनुका साथै उद्योगलाई आत्मनिर्भर बनायो ।
हाल अर्घाखाँची सिमेन्ट, सर्वोत्तम सिमेन्ट, पाल्पा सिमेन्टजस्ता उद्योगहरूले भारतीय सीमावर्ती बजारमा आफ्नो उपस्थिति सुदृढ बनाउँदै लगेका छन् । प्रतिस्पर्धी मूल्य निर्धारण, स्थानीय स्तरमा वितरण सञ्जाल विस्तार र भित्ते विज्ञापनमार्फत ब्रान्ड प्रवर्द्धन जस्ता रणनीतिहरू अपनाएर उनीहरूले भारतीय बजारमा पुनः पकड जमाउन थालेका छन् । विशेषगरी उत्तर प्रदेश, बिहार र उत्तराखण्डका सीमावर्ती क्षेत्रमा नेपाली सिमेन्टको माग बढ्दै गएको देखिन्छ ।

निर्यात वृद्धिसँगै सिमेन्ट उद्योगले नेपालको कुल निर्यातमा उल्लेखनीय योगदान दिन थालेको छ । यसले दीर्घकालीन रूपमा व्यापार घाटा न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
छैन ब्यवसायी खुसी
सकारात्मक यात्राबीच सिमेन्ट उद्योगले गम्भीर चुनौतीहरू पनि सामना गरिरहेको छ । विशेषगरी विद्युत् बक्यौता विवादले उद्योगीहरूलाई तनावमा पारेको छ । केही समयअघि नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरूको लाइन काटेपछि उत्पादन र आपूर्ति नै प्रभावित भएको थियो । उद्योग बन्द हुने अवस्थासम्म पुगेपछि सरकार र निजी क्षेत्रबीच वार्ता भई एक प्रकारको मध्यमार्गी सहमति कायम गरिएको थियो ।
उक्त सहमतिअनुसार उद्योगहरूले २८ किस्तामा बक्यौता रकम तिर्ने र पहिलो किस्ता ‘विवादित धरौटी’का रूपमा बुझाउने व्यवस्था गरिएको थियो । प्रारम्भिक चरणमा अधिकांश उद्योगीहरूले एक किस्ता बुझाए पनि त्यसपछिका किस्ताहरू तिर्ने विषयमा उनीहरू अनिच्छुक देखिएका छन् । यसले पुनः विद्युत् आपूर्ति कटौतीको जोखिम बढाएको छ । विद्युत् आपूर्तिमा पुनः अवरोध आयो भने सिमेन्ट उत्पादन र निर्यात दुवै प्रभावित हुने निश्चित छ ।
सिमेन्ट उत्पादक संघका पूर्व अध्यक्ष ध्रुव थापा भने योभन्दा धेरै गुणा बढी निर्यात गर्ने सकिने बताउँछन् । नेपाली सिमेन्ट भारतिय बजारमा अझै धेरै बिक्री गर्ने सकिने उनको मत छ । तर, राजनीति अस्थिरता, नविकरण अन्यौलतालगायत आन्तरिक चुनौतिले भनेजति ब्यवसायीहरुले निर्यात गर्ने नसकेको थापाले बताए ।
अझै, नेपाली सिमेन्ट तेस्रो बजारसम्म पुग्न सक्ने अवस्था नरहेको ब्यवसायीहरु बताउछन् । भारतिय माग समेत अझै उच्च रहेको हुँदा अझै तेस्रो मुलुकसम्म पुराउन नसकिएको ब्यवसायीहरुको तर्क छ ।











