राताम्य पुँजी बजारः लगानीकर्ताको मनोबल कमजोर हुँदा डुब्दै लगानी, किन बढ्न सकेको छैन ?

काठमाडौँ । पछिल्ला दिनहरूमा नेपाली शेयर बजारमा निरन्तर गिरावट देखिँदै जाँदा लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ । मंगलबारको भारी गिरावटपछि आज पनि बजारले सोही प्रवृत्ति दोहो¥याउँदै राताम्य अवस्था कायम राखेको हो । निरन्तरको ओरालो यात्राले लगानीकर्तामा थप निराशा र अनिश्चितता बढाएको देखिन्छ ।
बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्ष २०८२÷०८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेपछि बजारमा केही सकारात्मक अपेक्षा गरिएको भए पनि त्यसको प्रभाव उल्टो देखिएको छ । वित्तीय सूचकहरू समग्रमा सन्तोषजनक भए पनि सेयर बजारले अपेक्षित सुधारको संकेत दिन नसक्दा लगानीकर्ताको विश्वास अझै कमजोर बनेको विश्लेषण गरिएको छ ।
बजारमा पछिल्ला दिनहरूमा कारोबार रकम पनि निरन्तर घट्दो क्रममा देखिएको छ । यसले लगानीकर्ताको सक्रियता घट्दै गएको संकेत गर्छ । विशेषगरी छोटो अवधिका लगानीकर्ताहरूले जोखिम न्यूनीकरण गर्न सेयर बिक्री बढाउँदा बजारमा निरन्तर बिक्री चाप कायम रहँदा मूल्यमा थप गिरावट आएको छ । यसले सम्पत्ति मूल्य घटाउँदै समग्र बजारलाई दबाबमा राखेको छ ।
यसैबीच, केही व्यवसायी तथा ठूला लगानीकर्तासम्बन्धी अनियमितता र कानुनी कारबाहीका समाचारहरूले पनि बजारमा मनोवैज्ञानिक असर पारेको देखिन्छ । यस्ता घटनाले अनिश्चितता बढाएपछि लगानीकर्तामा सतर्कता र डर दुवै बढेको छ । यद्यपि नियामक निकायहरूले बजारलाई आधारभूत रूपमा स्थिर रहेको बताउँदै अनावश्यक त्रासमा नपर्न आग्रह गरेका छन्, साथै ब्याजदर घट्नु, तरलता सुधार हुनु र आर्थिक गतिविधि विस्तार हुनुजस्ता पक्षहरूले दीर्घकालीन रूपमा बजारलाई सकारात्मक दिशा दिने अपेक्षा गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.८१ अकंले घटेर २७४४.४५ बिन्दुमा कायम भएको छ । आज ३५१ कम्पनीको १ करोड २१ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १० उपसूचक राताम्य भएको छ । वाणिज्य बैंक समूहको ०.७६ प्रतिशत, फाइनान्स समूहको ०.६४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.६४ प्रतिशत, हाइड्रोपावर समूहको १.४५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

बुधबार ३० कम्पनीको शेयर मूल्य बढेको छ भने २३५ कम्पनीको घटेको छ । ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।











