नेपालमा निर्जीवन बीमाः विगत एकदशक, चुनौती र वर्तमान अवस्था

बीमा जोखिम व्यवस्थापनको एक महत्वपुर्ण माध्यम हो । बीमा विहिन अवस्था भनेको भविस्यमा हुन सक्ने एक अनिश्चितता हो । त्यसबाट हुने हानि नोक्सानी वा जोखिम न्यूनिकरण गर्नका लागि अपनाईने सुरक्षित बाटो बीमा हो । बीमाको अवधारणा आजको आधुनिक वित्तीय प्रणालीको महत्वपूर्ण हिस्सा भए पनि यसको इतिहास हजारौं वर्ष पुरानो रहेको विभिन्न तथ्यांकहरुबाट देखिन्छ । जुन समयानुकुल परिमार्जित हुँदै आएको हो । जोखिम बाँड्ने अभ्यासबाट सुरु भएको बीमा समयक्रममा विकसित हुँदै आजको जटिल र व्यवस्थित प्रणालीमा रुपान्तरण भएको छ । विश्वका ऐतिहासिक तथ्यांकहरु केलाउने हो भने करिब ४ हजार बर्षदेखि ३ हजार ईसापूर्व नै प्राचीन बाबिलोन सभ्यतामा व्यापारीहरूले व्यापारिक जोखिम घटाउन ऋण र सामानसँग सम्बन्धित सुरक्षात्मक अभ्यास अपनाउने गरेका पाईन्छ । समुद्रीक यात्रामा सामान नष्ट भए ऋण मिनाहा हुनेजस्ता प्रारम्भिक हालका बीमाका स्वरूप त्यतिबेलै देखिएको दस्तावेजहरुमा भेटिन्छ ।
त्यसपछि प्राचीन चीन र भारतमा पनि व्यापारीहरूले सामानलाई समूहमा बाँडेर जोखिम न्यूनीकरण गर्ने परम्परा विकास गरेको पाईन्छ । युरोपमा भने १२औँ देखि १४औँ शताब्दीमा समुद्री व्यापार विस्तारसँगै बीमाको औपचारिक अभ्यास सुरु भएको इतिहास पढ्न पाइन्छ। आधुनिक बीमाको विकासमा सन् १६६६ को लन्डनको ठूलो आगलागीलाई महत्वपूर्ण मोड मान्ने गरिन्छ । उक्त घटनापछि घर तथा सम्पत्ति बीमाको आवश्यकता व्यापक रूपमा बढेर गएको थियो।
त्यसपछि सन् १६८८ मा लेयड अफ लण्डनबाट समुद्री बीमा व्यवस्थित रूपमा सुरु भई विश्वव्यापी बीमा प्रणालीको आधार बनेको इतिहासकारहरूको दस्तावेजहरुमा उल्लेख छ । १८औँ र १९औँ शताब्दीमा औद्योगिक क्रान्तिसँगै जीवन बीमा, स्वास्थ्य बीमा र औद्योगिक बीमाको विस्तार तीव्र रूपमा भएको हो । ठूलो मात्रामा उत्पादन, यातायात र उद्योग विकाससँगै जोखिम व्यवस्थापनको आवश्यकता बढेपछि बीमा क्षेत्र अझ विकसित भएको हो। आजको समयमा बीमा क्षेत्र अत्यन्त आधुनिक र डिजिटल प्रविधिमैत्रि हुँदै गएका छन । स्वास्थ्य, जीवन, सवारी, सामुद्रिक कृषि, सम्पत्ति तथा साइबर सुरक्षासम्मका विभिन्न क्षेत्रमा बीमा सेवा उपलब्ध छन्। विशेषज्ञहरूका अनुसार बीमा अहिले विश्व अर्थतन्त्रको मुख्य आधारस्तम्भमध्ये एक बनेको छ, जसले व्यक्ति, व्यवसाय र सरकारलाई आर्थिक जोखिमबाट जोगाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ।
हाल नेपालमा अहिले जिवन र र्निजिवन बीमा गरी दुइ दर्जन भन्दा बढि बीमा कम्पनिहरु सन्चालनमा छन । यी कम्पनिहरुले मोटर बीमा ,आगलागी बीमा ,कृषि बीमा, दुर्घटना बीमा, वैदेशिक रोजगारी बीमा, स्वास्थ्य बीमा लगायत सेवा प्रदान गदै आएका छन । यस्ता प्राकृतिक प्रकोपले जोखिम व्यवस्थापनको आवश्यकता अझ प्रष्ट बनाएको छ ।जोखिमलाई भौगोलीक रुपमा हेर्दा विसं २०७२ सालको माहाभुकम्प प्रकोप र २०८१ सालको बाढि पहिरो देश भरी फेलिएपछि अझै आम नेपालीमा बीमाको महत्व बढेर गएको देखिन्छ । नेपाल जस्तो विकासोन्मुख देशमा भई रहने राजनीतिक परिवर्तन र आन्दोलनहरुमा हुने गरेका क्षतिलाई बीमाले निकै राहात दिएको सत्य हो । जलवायु परिवर्तनको प्रभाव स्वरुप हाम्रो जस्तो पहाडी देशमा बेला बेलामा आई रहने प्राकृतिक प्रकोपले पनि बीमाको महत्वलाई अझै अनिवार्य बनाउनुपर्ने देखाएको छ ।
बीमाको परिभाषा अनुसार आधारभूत बीमा शब्दहरूको जानकारी उपभोक्ताका लागि महत्वपूर्ण हुने बताएका छन्। “प्रिमियम” भनेको बीमा कायम राख्न तिर्नुपर्ने रकम हो भने “क्लेम” भनेको क्षति भएपछि बीमा कम्पनीसँग क्षतिपूर्तिका लागि गरिने औपचारिक माग हो। “पोलिसी” भनेको बीमा कम्पनी र बीमितबीच भएको कानुनी सम्झौता हो। बीमाले व्यक्ति तथा व्यवसायलाई अप्रत्याशित आर्थिक क्षतिबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ। “प्रिमियम” भनिने निश्चित रकम भुक्तानी गरेपछि बीमित व्यक्तिले दुर्घटना, रोग, प्राकृतिक विपत्ति, चोरी तथा मृत्युजस्ता जोखिमविरुद्ध आर्थिक सुरक्षा प्राप्त गर्छन्। बीमाले आर्थिक अनिश्चितता कम गर्न मद्दत गर्नुका साथै आपतकालीन अवस्थामा मानसिक शान्ति पनि प्रदान गर्दछ। नियमित भुक्तानीको बदलामा बीमा कम्पनीहरूले आफ्नो बीमा पोलिसीमा उल्लेख गरिएका शर्तअनुसार क्षतिपूर्ति उपलब्ध गराउने गर्दछ ।
विश्वभर प्रचलित बीमाका विभिन्न प्रमुख प्रकारहरू रहेका छन्। स्वास्थ्य बीमाले उपचार खर्च व्यहोर्न मद्दत गर्छ भने जीवन बीमाले बीमित व्यक्तिको मृत्यु भएपछि परिवारलाई आर्थिक सहयोग प्रदान गर्छ। त्यसैगरी, सवारी बीमाले दुर्घटनाबाट हुने क्षति कभर गर्छ भने गृह बीमाले आगलागी, चोरी तथा अन्य विपत्तिबाट सम्पत्तिको सुरक्षा गर्छ।
बढ्दो आर्थिक चुनौती र महँगो स्वास्थ्य सेवाका कारण बीमा विश्वभरका लाखौं मानिसका लागि अत्यावश्यक आर्थिक साधन बनेको छ। आर्थिक विश्लेषकहरूका अनुसार बीमासम्बन्धी जनचेतना विस्तार गर्न सके आर्थिक स्थायित्व मजबुत हुनुका साथै समुदायहरूलाई आकस्मिक संकटबाट छिटो पुनःस्थापित व्यवस्थित गराउन सहयोग पुग्नेछ।
नेपालमा बीमाको सुरुवात आजभन्दा करिब ७० वर्षअघि भएको मानिन्छ। नेपालमा औपचारिक रूपमा बीमा सेवाको शुरुआत विसं २००४ सालमा स्थापना भएको नेपाल बैंक लिमिटेड अन्तर्गतको “नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी” मार्फत भएको थियो। पछि विसं २०२५ सालमा राष्ट्रिय बीमा संस्थान स्थापना भएपछि नेपालमा बीमा क्षेत्र संस्थागत रूपमा विस्तार हुन थालेको ईतिहास छ । हाल नेपालमा जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा तथा लघुबीमा कम्पनीहरू सञ्चालनमा रहेका छन्। बीमा क्षेत्रले नागरिकलाई आर्थिक सुरक्षा प्रदान गर्नुका साथै देशको आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ।
नेपालमा बीमा क्षेत्रको विस्तारसँगै नागरिकहरूबीच बीमाप्रतिको आकर्षण पनि बढ्दै गएको छ। नेपालमा मुख्य रूपमा दुई प्रकारका बीमा सेवा मुख्यतय सञ्चालनमा रहेका छन । त्यसमा जीवन बीमा र निर्जीवन बीमा हो । जीवन बीमाले व्यक्तिको जीवनसँग सम्बन्धित जोखिमलाई समेट्ने गर्दछ। यसअन्तर्गत बीमित व्यक्तिको मृत्यु, दुर्घटना वा निश्चित अवधिपछि आर्थिक सुरक्षा प्रदान गरिन्छ। जीवन बीमाभित्र बाल शिक्षा बीमा, अवकाश तथा पेन्सन योजना लगायतका सेवाहरू पनि समावेश छन्। जीवन बीमाले परिवारको भविष्य सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेल्छ।
त्यसैगरी, निर्जीवन बीमाले सवारी साधन, घर, व्यवसाय, स्वास्थ्य तथा अन्य सम्पत्तिमा हुने सम्भावित क्षतिबाट सुरक्षा प्रदान गर्छ। मोटर बीमा, स्वास्थ्य बीमा, आगलागी बीमा, कृषि बीमा तथा यात्रा बीमा निर्जीवन बीमाअन्तर्गत पर्ने प्रमुख सेवाहरू हुन्। नेपालमा बीमा क्षेत्रको नियमन तथा अनुगमन गर्ने जिम्मेवारी नेपाल बीमा प्राधिकरणले निर्वाह गर्दै आएको छ। पछिल्ला वर्षहरूमा बीमा पहुँच विस्तार गर्न विभिन्न सचेतनामूलक कार्यक्रम तथा नयाँ योजनाहरू पनि अघि बढाइएका छन्। बीमाले नागरिकलाई आर्थिक सुरक्षा प्रदान गर्नुका साथै देशको आर्थिक स्थायित्व र विकासमा समेत महत्वपूर्ण योगदान पु¥याउने गर्दछ।
नेपालमा कृषि बीमा र ग्रामिण क्षेत्रको अवस्था
नेपालमा कृषि बीमा तथा ग्रामीण क्षेत्रमा बीमा सेवाको विस्तार पछिल्ला वर्षहरूमा जनचेतनासंगै बढ्दै गएको देखिएको छ। कृषि क्षेत्रलाई जलवायु परिवर्तन, बाढी, खडेरी, रोग–कीरा तथा प्राकृतिक विपत्तिबाट जोगाउन कृषि बीमा कार्यक्रम सञ्चालन गरिए पनि यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको सरोकारवालाहरूले बताउने गरेका छन । कृषि बीमाअन्तर्गत किसानहरूले बाली, पशुपन्छी तथा कृषि उत्पादनमा हुने क्षतिबाट आर्थिक सुरक्षा प्राप्त गर्ने व्यवस्था गरिएको छ। सरकारले अनुदानसहित कृषि बीमा योजना लागू गरे पनि धेरै ग्रामीण किसानसम्म यसको पूर्ण पहुँच पुग्न सकेको छैन।
विभिन्न सरकारी तथा गैरसरकारी तथ्यांकहरु अनुसार ग्रामीण क्षेत्रमा बीमासम्बन्धी जनचेतना कमी हुनु, कागजी प्रक्रिया झन्झटिलो हुनु तथा दाबी भुक्तानीमा ढिलाइ हुनु प्रमुख समस्याका रूपमा देखिएका छन्। विशेषगरी साना किसानहरूले बीमाको फाइदा बुझ्न नसक्दा यसको उपयोग अपेक्षित रूपमा बढ्न सकेको छैन। त्यसैगरी, दुर्गम क्षेत्रमा बीमा कम्पनीहरूको शाखा तथा सेवा पहुँच सीमित हुँदा सेवा वितरण प्रभावकारी हुन सकेको छैन। मौसमजन्य जोखिम बढ्दै जाँदा कृषि बीमाको आवश्यकता भने अझ महत्वपूर्ण बन्दै गएको देखिन्छ ।
बीमा क्षेत्रको नियमन तथा सुधारका लागि नेपाल बीमा प्राधिकरणले कृषि बीमा विस्तार र ग्रामीण पहुँच सुधारका लागि विभिन्न नीति तथा कार्यक्रम अघि बढाइरहेको छ। तर डिजिटल सेवा विस्तार, स्थानीय तहसँग सहकार्य र जनचेतना अभिवृद्धि नगरेसम्म कृषि बीमाको प्रभावकारीता पूर्ण रूपमा हासिल हुन कठिन हुने देखिन्छ। त्यसका लागि जनचेतना र स्थानीय कृषकहरुलाई मुल स्थान दिनु आजको आवश्यकता हो ।
समग्रमा, कृषि बीमा ग्रामीण अर्थतन्त्रको सुरक्षा कवच बन्न सक्ने सम्भावना भए पनि यसको पहुँच, कार्यान्वयन र कम्पनीहरुले दिने क्षतिपुर्तिको विश्वासयोग्यता अझै मजबुत बनाउनुपर्ने आवश्यकता रहेको सरोकारवालाहरूले आवाज उठाई रहेको पाईन्छ । हाल कृषि बीमा अनुदान कार्यक्रम सञ्चालनमा छ तर यस क्षेत्रमा ग्रामिण किसान भन्दा व्यापारीले बढि फाइदा उठाएको आरोप यदाकदा सुनिन्छ । त्यसको नियोचित अनुगमन जरुरी छ । यसलाई व्यवस्थित र पारदर्शी बनाउन नीजि क्षेत्र, राज्य र सरोकारवालाहरुबीच समन्वय आवश्यक देखिन्छ । घर ,गोठ, पशु ,बालि फलफुल तथा स्वास्थ्यसँग सम्बन्धित बीमा योजनालाई स्थानिय निकायमार्फत प्रवर्धन गर्नुआजको मुख्य चुनौति हो । यसका लागि राज्यका यी निकायहरुमा उचित अनुदान प्रदान गर्नुपर्छ । राज्यका निकायबाट किसानलाई दिएका अनुदान रोकिएका छन । नेपाल कृषि प्रधान देश हो त्यसैले कृषिको उचित मुल्याकंन हुनुपर्छ। राज्यले अनिवार्य रुपमा निति ग्रामिण क्षेत्र लक्षित गरी कार्यकम पारदर्शी बनाउनु अहिले मुख्य उदेश्य हुनु पर्दछ । यसो गर्दा आगामी दिनहरुमा जोखिम व्यवस्थापन आत्मर्निभर बन्न सक्छ।
नेपालमा निर्जीवन बीमा क्षेत्रले पछिल्लो १० वर्षमा उल्लेखनीय रूपान्तरण गरेको मेरो आफ्नो अनुभवले भन्न सक्दछु । बीमा पहुँच, व्यवसाय विस्तार, प्रविधिमा देखिएका उन्नत प्रयोग र जनचेतनाका हिसाबले अहिलेको अवस्था १० बर्ष पहिलेको तुलनामा धेरै सुधारिएको पक्कै हो । जुन कुरा त्यस क्षेत्रमा भएका लगानी र मानिसहरुको आकर्षणले प्रष्ट हुन्छ । दशकअघि निर्जीवन बीमा सेवा मुख्यतः सहरी क्षेत्र र ठूला व्यवसायमा मात्र सीमित थियो। ग्रामीण क्षेत्रमा बीमा पहुँच निकै न्यून थियो र धेरै नागरिकले बीमालाई अतिरिक्त खर्चका रूपमा हेर्ने गरेका थिए। तर अहिले बीमा सेवा गाउँ–गाउँसम्म विस्तार भएको छ र मोटर, स्वास्थ्य, कृषि तथा लघु बीमाजस्ता योजनाले सर्वसाधारणमा चेतना मात्रै बढेको छैनकी पहुँच पनि उत्तिकै बढाएको छ।
बीमा कम्पनीहरूको संख्या वृद्धि भएसँगै व्यवसाय र लगानी पनि विस्तार भएको छ। बीमा कम्पनीहरूले बैंक, शेयर बजार, सरकारी ऋणपत्र, निजी क्षेत्र तथा अन्य सुरक्षित क्षेत्रमा अर्बौं लगानी गर्दै आएका छन्। यसले बीमा क्षेत्रलाई नेपालमा वित्तीय प्रणालीको एक महत्वपूर्ण हिस्सा बनाएको छ। प्रविधिको क्षेत्रमा पनि ठूलो परिवर्तन देखिएको छ। एक दशक पहिले पूर्ण रूपमा कागजी प्रक्रियामा आधारित बीमा सेवा अहिले डिजिटल प्रणाली, अनलाइन पोलिसी, मोबाइल एप र इलेक्ट्रोनिक दाबी प्रक्रियातर्फ कार्यन्वयनमा आएको छ । जसका कारण सरल, छरितो सेवा र पारदर्शी बनाउन उल्लेखनीय सहयोग पुगेको छ ।
जनचेतनाको स्तर पनि पहिलेको तुलनामा आकास पाताल जस्तै बढेको छ। प्राकृतिक विपत्ति, दुर्घटना तथा स्वास्थ्य खर्चको जोखिम बढ्दै गएपछि नागरिकहरू बीमाप्रति बढी आकर्षित भएका हुन । एक दशक पहिले बीमाको बारेमा बुझाउन खोज्दा मुन्टो बटार्ने नगारिक समाज आजकाल कुनै भौतिक वस्तु खरिदपछि बीमा नगरी प्रयोग नै गर्दैनन । यो दशकमा आएको निकै ठुलो जनचेताना र सुधार हो । यद्यपि अझै पनि केही चुनौतीहरु बाँकी रहेको छन्। दाबी भुक्तानी प्रक्रियामा ढिलाइ, ग्रामीण क्षेत्रमा सीमित पहुँच, बीमा ठगी नियन्त्रण, केहि भ्रम पैदा गर्ने समुह र जलवायुजन्य जोखिम व्यवस्थापन प्रमुख चुनौतीका रूपमा देखिएका छन्। बीमा क्षेत्रको नियमन तथा विकासका लागि नेपाल बीमा प्राधिकरणले विभिन्न नीतिगत सुधार गर्दै आएको छ।
सरोकारवालाहरूका अनुसार आगामी दिनमा प्रविधि विस्तार, सेवा सुधार र जनचेतना वृद्धि गर्न सके निर्जीवन बीमा क्षेत्र अझ सुदृढ र सर्वसाधारणको पहुँचमा पुग्नेमा दुईमत छैन ।
नेपालमा निर्जीवन बीमाप्रति नागरिकहरूको आकर्षण क्रमशः बढ्दै गएको छ। जीवनबाहेक अन्य सम्पत्ति, स्वास्थ्य, सवारी साधन तथा व्यवसायसँग सम्बन्धित जोखिमबाट आर्थिक सुरक्षा प्रदान गर्ने भएकाले निर्जीवन बीमालाई महत्वपूर्ण आर्थिक सुरक्षाको माध्यमका रूपमा हेरिएको छ। निर्जीवन बीमाअन्तर्गत मोटर बीमा, आगलागी बीमा, यात्रा बीमा, कृषि बीमा तथा गृह बीमा लगायतका सेवाहरू समावेश छन्। दुर्घटना, आगलागी, चोरी, प्राकृतिक विपत्ति वा अन्य अप्रत्याशित घटनाबाट हुने आर्थिक क्षतिमा बीमा कम्पनीहरूले सम्झौताअनुसार क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ।
बीमा क्षेत्रमा बढ्दो आर्थिक जोखिम र प्राकृतिक विपत्तिका कारण निर्जीवन बीमाको आवश्यकता अझ बढ्दै गएको छ। विशेषगरी सवारी साधन, घर तथा व्यवसायको सुरक्षा सुनिश्चित गर्न धेरै मानिसहरू निर्जीवन बीमातर्फ आकर्षित भइरहेका छन्। नेपालमा पछिल्ला बर्षहरुमा आफ्नो जीवनमा बल्ल बल्ल किनेको घर होस वा कार वा सम्पति व्यवसाय सुरक्षित गर्न बीमा अनिवार्य सर्तका रुपमा अपनाउन थालेका छन । सवारी दुर्घटनाबाट गाडीमा क्षति पुगेमा मोटर बीमाले मर्मत खर्च व्यहोर्न मद्दत गर्छ भने आगलागी वा प्राकृतिक विपत्तिबाट घरमा भएको क्षतिमा गृह बीमाले आर्थिक राहत प्रदान गर्ने गर्दछ।
नेपालमा निर्जीवन बीमा क्षेत्रको नियमन तथा अनुगमन नेपाल बीमा प्राधिकरणले गर्दै आएको छ। पछिल्ला वर्षहरूमा बीमा पहुँच विस्तार तथा जनचेतना अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्।
नेपालमा निर्जीवन बीमा क्षेत्रको लगानी तथा व्यवसाय विस्तार क्रमशः बढ्दो अवस्थामा रहेको देखिएको छ। पछिल्ला वर्षहरूमा बीमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्था, ऋणपत्र, शेयर बजार, निजी क्षेत्र र
अन्य विभिन्न क्षेत्रमा अर्बौं रुपैयाँ लगानी गर्दै आएका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार नेपालमा सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म विभिन्न क्षेत्रमा अनुमानित ६८ अर्ब ७४ करोड रुपैयाँ लगानी गरेका छन्। बीमा कम्पनीहरूको लगानी बैंक निक्षेप, सरकारी ऋणपत्र, शेयर तथा अन्य सुरक्षित क्षेत्रहरूमा केन्द्रित रहेको बताइएको छ।
बीमा क्षेत्रसम्बन्धी अध्ययनअनुसार नेपालका जीवन र निर्जीवन बीमा कम्पनीहरूको कुल लगानी ८ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। त्यसमध्ये निर्जीवन बीमा कम्पनीहरूको योगदान उल्लेखनीय रहेको देखिन्छ। त्यसैगरी, निर्जीवन बीमा व्यवसाय पनि तिव्र विस्तार भइरहेको तथ्यांकले देखाएको छ। हाल नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय चालु आर्थिक वर्षमा उल्लेखनीय रूपमा बढेको छ। केही रिपोर्टअनुसार निर्जीवन बीमा व्यवसायमा १२ प्रतिशतभन्दा बढी वृद्धि भएको उल्लेख गरिएको छ।
जसअनुसार सवारी साधन, स्वास्थ्य, कृषि, उद्योग तथा प्राकृतिक विपत्तिसम्बन्धी जोखिम बढ्दै जाँदा निर्जीवन बीमाप्रति जनचासो पनि बढेको छ। विशेषगरी मोटर बीमा, स्वास्थ्य बीमा तथा सम्पत्ति बीमामा ग्राहक आकर्षण बढ्दो क्रममा रहेको बताइएको छ। यद्यपि, बीमा पहुँच अझै पनि ग्रामीण क्षेत्रमा सीमित रहेको र बीमासम्बन्धी जनचेतना विस्तार गर्न आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्। आर्थिक विश्लेषकहरूका अनुसार निर्जीवन बीमा क्षेत्रको विस्तारले आर्थिक स्थायित्व, लगानी वृद्धि तथा विपद्पछि पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेल्न सक्छ।
निर्जीवन बीमा क्षेत्रमा विभिन्न चुनौतीहरु
नेपालमा निर्जीवन बीमा क्षेत्र विस्तार हुँदै गए पनि यस क्षेत्रले अझै विभिन्न चुनौतीहरूको सामना गरिरहेको सरोकारवालाहरूले बताएका छन्। बीमा पहुँच विस्तार, जनचेतना अभावदेखि आर्थिक तथा प्राविधिक समस्यासम्मका चुनौतीहरूले निर्जीवन बीमा व्यवसायलाई प्रभावित गरिरहेको छ। नेपालमा अझै धेरै नागरिक बीमाको महत्वबारे पूर्ण रूपमा जानकार छैनन्। विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा बीमासम्बन्धी जनचेतना कम भएकाले बीमा पहुँच सीमित रहेको छ। धेरै मानिसहरूले बीमालाई अतिरिक्त खर्चका रूपमा हेर्ने प्रवृत्ति अझै कायम रहेको बताइन्छ।
त्यसैगरी, दाबी भुक्तानी प्रक्रियामा ढिलाइ हुनु पनि निर्जीवन बीमा क्षेत्रको प्रमुख चुनौती मानिएको छ। कतिपय अवस्थामा बीमितहरूले समयमै क्षतिपूर्ति नपाउने गुनासो गर्ने गरेका छन्, जसले बीमा कम्पनीप्रतिको विश्वासमा असर पार्ने गरेको छ। त्यस विषयमा सरोकारवाला निकायहरु सचेत हुनु अहिलेको पहिलो आवश्यकता पनि हो । जति धेरै नागरिक तहमा सचेत बनाउन सकिन्छ त्यति नै व्यापार व्यवसायप्रति आम मानिसको आकर्षण बढ्ने निश्चित छ ।
बीमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा पनि अर्को चुनौतीका रूपमा देखिएको छ। ग्राहक आकर्षित गर्न केही कम्पनीहरूले न्यून प्रिमियम दरमा सेवा प्रदान गर्दा दीर्घकालीन वित्तीय स्थायित्वमा असर पर्न सक्ने विज्ञहरूको चिन्ता छ । कति पय अवस्थामा बुझाइमा कमी हुँदा पनि दुर्घटनापछि पाउने क्षतिपुुर्तिमा मानिसहरुको अपेक्षा बढ्ने भएकोले त्यस्ता कुरामा दवै पक्षबीच प्रष्ट बुझाई अहिलेको मुख्य चुनौति पनि हो ।
हाम्रो जस्तो पहाडी देश जहाँ प्राकृतिक विपत्ति, बाढी, पहिरो, भूकम्प तथा आगलागीजस्ता घटनाबाट ठूलो क्षति हुँदा बीमा कम्पनीहरूमा दाबी भुक्तानीको दबाब बढ्ने गरेको छ। जलवायु परिवर्तनका कारण जोखिम बढ्दै जाँदा निर्जीवन बीमा क्षेत्र थप संवेदनशील बन्दै गएको विश्लेषण विज्ञहरुले गरी रहेका छन । प्रविधिको सीमित प्रयोग, दक्ष जनशक्तिको अभाव तथा बीमा ठगीका घटनाहरू पनि यस क्षेत्रका चुनौतीहरूमा पर्दछन्। साथै, कृषि तथा ग्रामीण क्षेत्रसम्म प्रभावकारी बीमा सेवा विस्तार गर्न नसक्नु पनि ठूलो समस्या मानिएको छ। नेपालमा निर्जीवन बीमा क्षेत्रको नियमन तथा अनुगमन नेपाल बीमा प्राधिकरणले गर्दै आएको छ। सरोकारवालाहरूले जनचेतना वृद्धि, प्रविधि विस्तार, पारदर्शी सेवा र प्रभावकारी नियमनमार्फत यी चुनौती समाधान गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
निर्जीवन बीमा क्षेत्रमा सुधारका सम्भावित दिशा
नेपालमा निर्जीवन बीमा क्षेत्र विस्तार हुँदै गए पनि यसको प्रभावकारी विकासका लागि अझै धेरै सुधार आवश्यक रहेको सरोकारवालाहरूले बताउने गरेका छन । बीमा पहुँच विस्तारदेखि सेवा प्रविधीकरणसम्मका सुधारहरूले यस क्षेत्रलाई थप सुदृढ र पहुँचयोग्य बनाउन सक्ने छ। बीमा क्षेत्रका जानकारहरूका अनुसार पहिलो सुधारका रूपमा जनचेतना अभिवृद्धि अत्यन्त आवश्यक छ। ग्रामीण तथा दुर्गम क्षेत्रमा अझै पनि बीमाको महत्व र फाइदाबारे पर्याप्त जानकारी नपुगेकाले व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ।
त्यसैगरी, दाबी भुक्तानी प्रक्रिया सरल र छिटो बनाउनु अर्को महत्वपूर्ण सुधार मानिएको छ। बीमितले समयमै क्षतिपूर्ति पाउने व्यवस्था सुनिश्चित गर्न डिजिटल प्रणाली र स्पष्ट कार्यविधि लागू गर्नुपर्ने अहिलेको आवश्यकता औंल्याइएको छ। त्यसैगरी नेपालमा बीमा कम्पनिहरुको संख्या बढदे गएको छ तर बीमा कम्पनिहरुको संख्या बढ्दैमा बीमा बिस्ता हुने होईन । बीमा प्राधिकरण नियामक निकायको रुपमा रहेको भएपनि राजनितिक हस्तक्षेपका कारण कार्यक्षमता प्रभावित भएको जनगुनासो प्रष्ट देखिन्छ । बीमा जस्तो संवेदनशिल क्षेत्रमा योग्य र दक्ष जनशक्त्तिलाई नेतृत्व दिनु अहिलेको मुख्य आवश्यकता हो । साथै नियमक निकाय स्वतन्त्र र उत्तरदायि हुनु आवश्यक छ । डिजिटलाइजेसन र प्रविधिको प्रयोग विस्तार पनि सुधारको प्रमुख पक्ष हो। अनलाइन बीमा सेवा, मोबाइल एप, डिजिटल दाबी प्रक्रिया र डेटा व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउँदा सेवा छिटो, पारदर्शी र विश्वसनीय हुने अपेक्षा गरिएको छ।
बीमा क्षेत्रमा देखिने ठगी नियन्त्रण र पारदर्शिता वृद्धि पनि सुधारको अर्को महत्वपूर्ण पक्ष हो। अनियमितता रोक्न कडाइका साथ अनुगमन र बीमा कम्पनीहरूको आन्तरिक सुशासन मजबुत बनाउनुपर्ने सरोकारवालाहरूको सुझाव रहँदै आएको छ । नेपालको सन्र्दभमा आन्तरिक सुरक्षा चुनौति पनि पछिल्ला बर्षहरुमा बढेर गएको छ । त्यसैगरी, ग्रामीण तथा कृषि क्षेत्रमा बीमा पहुँच विस्तार गर्नुपर्ने आवश्यकता पनि जोड दिइएको छ। विशेषगरी कृषक, साना व्यवसायी र विपन्न वर्गलाई लक्षित बीमा योजनाहरू विकास गर्नुपर्ने सुझाव दिइएको छ। बीमा कम्पनीहरूबीचको स्वस्थ प्रतिस्पर्धा र दीर्घकालीन वित्तीय स्थायित्व कायम राख्न नियमनकारी निकायको भूमिका अझ प्रभावकारी बनाउनुपर्ने देखिएको छ। नेपालमा बीमा क्षेत्रको नियमन तथा सुधारका लागि नेपाल बीमा प्राधिकरण ले विभिन्न नीतिगत प्रयास गर्दै आएको छ। यी सुधारहरू कार्यान्वयन गर्न सकेमा निर्जीवन बीमा क्षेत्र अझ सुदृढ, आधुनिक र सर्वसाधारणमैत्री बन्न निश्चित छ ।
लेखक हिमालयन एभरेष्ट इन्स्योरेन्समा कार्यरत छन् ।












