संसदमा भरत खड्काको प्रश्न, ‘१२ वर्षदेखि अलपत्र डोटीको सातनालि पुल कहिले बन्ने हो ?’

काठमाडौँ । डोटीबाट निर्वाचित सांसद भरत खड्काले डोटी जिल्लाका विकास निर्माण, विद्युत् तथा दूरसञ्चार सेवासम्बन्धी समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद खड्काले डोटी जिल्लाको सातनाली सडकअन्तर्गत सेती नदीमा निर्माणाधीन मोटरेबल पुल कहिले निर्माण हुने भन्दै प्रश्न गरेका छन् । सांसदमा बोल्दै उनले भने, ‘डोटी जिल्लाको सातताली सडक सेती नदीमा मोटरेबल पुल करिब १०/१२ वर्षदेखि अलपत्रमा परेको छ। त्यो कहिले निर्माण हुने हो ? अब एक वर्षभित्र निर्माण गर्न सभामुख मार्फत म सम्बन्ध पक्षसँग जोडदार माग गर्न चाहन्छु ।’
उनले डोटी जिल्लामा विद्युत्का मिटर बक्सको समेत ठूलो अभाव रहेको बताए। उनले भने, ‘डोटी जिल्लामा विद्युतका मिटर बक्सको पनि ज्यादै ठूलो अभाव छ। र डोटी जिल्लाका नागरिकहरू नागरिकहरू मिटर बक्स अभावका कारणले उज्यालोबाट वञ्चित भएका छन्। यथाशीघ्र सम्बन्ध पक्षले यी बिटरबक्ष उपलब्ध गराउन पनि म जोडदार माग गर्दछु’
सांसद खड्काले डोटीमा दूरसञ्चार सेवा पनि अत्यन्त कमजोर रहेको गुनासो गरे। बारम्बार ध्यानाकर्षण गराउँदा समेत सेवामा अपेक्षित सुधार हुन नसकेको भन्दै उनले सेवा प्रवाह प्रभावकारी बनाउन तथा दूरसञ्चार नेटवर्क सहज बनाउन सम्बन्धित पक्षको तत्काल ध्यान जानुपर्ने बताए।
स्मरण रहोस्ः निर्माणाधीन मोटरेबल पुल २०७१ साल असार २९ गते पप्पु–राजेन्द्र जेभीलाई ठेक्का दिँदा २०७४ साल असार २८ भित्र काम सकिने कागजी प्रतिबद्धता थियो । तर ११ वर्ष बितिसक्दा काम २२–२५ प्रतिशतकै वरिपरि घुमिरहेको छ । ठेकेदारले काम गर्छु भन्ने, म्याद थप्ने, फेरि मौन बस्ने—यो क्रम यति पुरानो भइसकेको छ कि स्थानीयका लागि नयाँ कुरा केही छैन । पुल निर्माणको जिम्मेवारीमा रहेका सञ्चालक भिमबहादुर साउद राजनीतिक रूपमा शक्तिशाली व्यक्ति हुन् । नेपाली कांग्रेस डडेल्धुरा जिल्ला सभापति र पर्शुराम नगरपालिकाका पूर्व नगरप्रमुख हुन् ।
सातनाली मोटरेबल पुलको नाममा पटक-पटक धोका, यी नेतृत्वले गर्न सक्लान बाचा पुरा ?












