कमजोर सिस्टमका कारण घट्दै ईसेवाका प्रयोगकर्ता, १० महिनाको व्यापार १५ करोडमा खुम्चियो

८ श्रावण २०८३, शुक्रबार १४:०८

काठमाडौँ । नेपालमा डिजिटल भुक्तानी सेवाको क्षेत्रमा एक समय अग्रणी मानिएको ईसेवाको व्यापार पछिल्ला वर्षहरूमा निरन्तर दबाबमा परेको देखिएको छ । कमजोर सिस्टमका कारण पटक–पटक सेवामा आइरहेको गडबढीले विश्वनियतमाथि निरन्तर धक्का लाग्दा व्यापार ओरालो लाग्दै गएको हो ।

ईसेवाले गत आर्थिक वर्षको १० महिनामा जम्मा १५ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीको आम्दानी पछिल्ला केही वर्षदेखि लगातार घट्दो क्रममा छ ।

आर्थिक वर्ष २०७८/७९ मा २३ करोड ८० लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी आर्थिक वर्ष २०७९/८० मा घटेर २३ करोड ५० लाख रुपैयाँमा सीमित भयो ।त्यसपछि आर्थिक वर्ष २०८०/८१ मा यो थप घटेर २१ करोड २० लाख रुपैयाँमा झर्यो भने आर्थिक वर्ष २०८१/८२ मा २० करोड ७० लाख रुपैयाँमा सीमित रह्यो ।

पछिल्ला वर्षहरूमा ईसेवाको प्रणालीको विश्वसनीयतामाथि पनि पटक–पटक प्रश्न उठ्दै आएको छ । विभिन्न समयमा प्रणाली अवरुद्ध हुने, सेवा प्रभावित हुने तथा प्राविधिक समस्या दोहोरिरहने घटनाले प्रयोगकर्ताहरूको विश्वासमा असर पुगेको छ । कमजोर सुरक्षा संरचना र प्राविधिक गडबडीका कारण डिजिटल भुक्तानी प्रणालीप्रति ग्राहकको भरोसा कमजोर हुँदै जादा ईसेवा साइबर सुरक्षासम्बन्धी पर्याप्त मापदण्ड माथि नै प्रश्न उठ्न थालेको हो ।

डिजिटल भुक्तानी प्रणालीमा सुरक्षा सबैभन्दा महत्त्वपूर्ण पक्ष मानिन्छ । तर ईसेवाको मोबाइल वालेट सेवामा देखिएका कमजोरीका कारण विभिन्न प्रकारका साइबर अपराध तथा ठगीका घटना सार्वजनिक हुँदै आएका छन् । अनधिकृत व्यक्तिहरूले प्रयोगकर्ताको रकम निकाल्ने, खातामा पहुँच बनाउने तथा वित्तीय जानकारीको दुरुपयोग गर्ने घटनाहरू बढेको भन्दै उपभोक्ताहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । यस्ता घटनाले कम्पनीको छवि कमजोर बनाएको मात्र नभई नयाँ ग्राहक थप्ने र पुराना ग्राहक टिकाइराख्ने क्षमतामाथि पनि प्रत्यक्ष असर परेको देखिन्छ । ग्राहकको विश्वास कमजोर बन्दै जाँदा सेवा प्रयोगकर्ताको संख्या घट्दै गएको र त्यसको प्रत्यक्ष असर व्यापारमा परेको छ ।

कम्पनीको नाफा आर्जन गर्ने क्षमता पनि वर्षैपिच्छे कमजोर बन्दै गएको देखिन्छ । ब्याज, कर, मूल्यह्रास तथा परिशोधनअघिको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०७८/७९ मा २४ दशमलव ३५ प्रतिशत रहेको थियो । तर आर्थिक वर्ष २०७९/८० मा यो घटेर १६ दशमलव ९८ प्रतिशतमा सीमित भयो । त्यसपछि आर्थिक वर्ष २०८०/८१ मा अझै घटेर १४ दशमलव ४७ प्रतिशतमा झर्यो । आर्थिक वर्ष २०८१/८२ मा सामान्य सुधार हुँदै १७ दशमलव ८९ प्रतिशत पुगे पनि यो विगतको उच्च स्तरभन्दा निकै तल रहेको छ । गत आर्थिक वर्षको १० महिनामा यो २० दशमलव ७६ प्रतिशत पुगेको भए पनि कम्पनीको नाफा आर्जन गर्ने क्षमता अझै पूर्ण रूपमा सुदृढ हुन नसकेको देखिन्छ ।

ऋण भुक्तानी गर्ने क्षमता पनि लगातार कमजोर बन्दै गएको छ । आर्थिक वर्ष २०८०/८१ मा २ दशमलव ०५ गुणामा सीमित भएको यो अनुपात आर्थिक वर्ष २०८१/८२ मा थप घटेर १ दशमलव ८१ गुणामा पुगेको छ । गत आर्थिक वर्षको पहिलो १० महिनामा भने सामान्य सुधार हुँदै २ दशमलव ०५ गुणा पुगेको देखिए पनि यो अवस्था कम्पनीको ऋण वहन क्षमता पहिलेको तुलनामा निकै कमजोर भएको रहेको देखिएको छ ।

कम्पनीको समग्र ऋण संरचनामा पनि ठूलो उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा कुल ऋण र खुद पुँजीबीचको अनुपात एक्कासि बढेर १ दशमलव ३२ गुणा पुगेको थियो । आर्थिक वर्ष २०८१/८२ मा सबै दायित्व फछ्र्योट गरिएपछि यो अनुपात ० दशमलव ०७ गुणामा झरेको देखिए पनि त्यो अवस्था लामो समय टिक्न सकेन । गत आर्थिक वर्षको पहिलो १० महिनामै कम्पनीको कुल ऋण फेरि बढेर २४ करोड ४० लाख रुपैयाँ पुगेको छ भने कुल ऋण र खुद पुँजीबीचको अनुपात पनि १ दशमलव १६ गुणामा पुगेको छ ।

बजारमा बढ्दो प्रतिस्पर्धा र सेवा शुल्कमा परेको दबाबका कारण ईसेवा चलाउनेको संख्या घट्दो क्रममा रहेको देखिन्छ । नेपालमा रेमिट्यान्स क्षेत्रमा इजाजतप्राप्त रकम स्थानान्तरण कम्पनी, बैंक तथा डिजिटल भुक्तानी सेवा प्रदायकहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ । ग्राहक आकर्षित गर्न संस्थाहरूबीच सेवा शुल्क घटाउने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । यही प्रतिस्पर्धाका कारण ईसेवाको बजार हिस्सा क्रमशः दबाबमा पर्दै गएको र सेवा शुल्कबाट हुने आम्दानीसमेत खुम्चिँदै गएको देखिन्छ ।

ईसेवा २०७६ असोज ८ गते स्थापना भएको कम्पनी हो । यसले २०७७ मंसिर १२ गते नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्राको भित्रिने विप्रेषण सेवा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको थियो । कम्पनीको केन्द्रीय कार्यालय ललितपुरको पुल्चोकमा रहेको छ । कम्पनीले विभिन्न देशका ६० वटा अन्तर्राष्ट्रिय रकम स्थानान्तरण संस्थासँग साझेदारी गरेको जनाएको छ । साथै नेपालभर १३ हजार ८ सयभन्दा बढी भुक्तानी केन्द्र तथा ४ हजारभन्दा बढी बैंक, सहकारी संस्था र व्यक्तिगत प्रतिनिधिमार्फत सेवा विस्तार गरेको दाबी गरेको छ ।

कम्पनीका चार जना प्रवद्र्धक रहेका छन् भने करिब ७५ प्रतिशत स्वामित्व एफ वान सफ्ट इन्टरनेसनल प्रालिको रहेको छ । कम्पनीको अध्यक्ष विश्वास ढकाल हुन् भने प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला रहेका छन् ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ईसेवाको ७० करोड रुपैयाँ बराबरको अल्पकालीन बैंकिङ सुविधालाई ‘आईआरएन ए–थ्री’ श्रेणीको रेटिङ प्रदान गरेको छ।

ईसेवालगायत वालेट ठगी भयावह: ९ महिनामा २४ करोड गायब, प्रहरी मैदानमा हुँदा कहाँ चुक्यो राष्ट्र बैंक ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*