माथिल्लो मैलुङ खोला जलविद्युतले घाटा सुधार्दै कमायो ११ करोड नाफा

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले गत आर्थिक वर्षमा आफ्नो वित्तीय अवस्थामा उत्साहजनक सुधार ल्याउन सफल भएको छ । अघिल्लो आवमा घाटामा रहेको कम्पनीले गत आवमा नाफा कमाउन सफल भएको हो ।
अघिल्लो आवमा ६८ लाख ३७ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको यस कम्पनीले गत आवमा ११ करोड १२ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
यता कम्पनीको आम्दानीको मुख्य स्रोत विद्युत बिक्रीमा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो आवमा विद्युत बिक्रीबाट ३४ करोड ९५ लाख ६० हजार रुपैयाँ कमाएकोमा कम्पनीले गत आवमा २३ प्रतिशतभन्दा बढीले वृद्धि गर्दै ४३ करोड ११ लाख ३६ हजार रुपैयाँ आम्दानी गरेको छ ।
नाफा र आम्दानीमा सुधार आएसँगै कम्पनीका अन्य वित्तीय सूचकहरू पनि सुदृढ देखिएका छन् । अघिल्लो वर्ष ०.६८ रुपैयाँले ऋणात्मक रहेको प्रतिशेयर आम्दानी अहिले सकारात्मक भई ११.१३ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ ८९.४८ रुपैयाँबाट १००.५७ रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष १० करोड ६७ लाख रुपैयाँभन्दा बढी घाटामा रहेको जगेडा कोष यस वर्ष ३० लाख ४६ हजार रुपैयाँले धनात्मक भएको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ यथावत रहेको छ । यस्तै कम्पनीको कुल सम्पत्ति ३ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुगेको विवरणमा उल्लेख छ ।











