डडेल्धुरा कांग्रेस सभापति भीम साउँदलाई अर्को झट्का, निर्माण कम्पनी तीन वर्षका लागि कालोसूचीमा

काठमाडौँ । सुदूरपश्चिमका विभिन्न जिल्लामा सार्वजनिक निर्माणका दर्जनौँ आयोजना अलपत्र परेको आरोप खेप्दै आएको नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदसँग सम्बन्धित निर्माण कम्पनी फेरि सरकारी कालोसूचीमा परेको छ। ठेक्का लिने तर निर्धारित समयमा काम सम्पन्न नगर्ने प्रवृत्तिमाथि प्रश्न उठिरहेका बेला साउँद मुख्य व्यक्ति रहेको बराह डेभलपर्स प्रालिमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वर्षको प्रतिबन्ध लगाएको हो ।
धनगढी उपमहानगरपालिका–४ मा रहेको बराह डेभलपर्स प्रालि (साविक राजेन्द्र निर्माण सेवा प्रालि) लाई सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो। अछामको कमलबजार नगरपालिकाको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कारबाही गरिएको कार्यालयले जनाएको छ। कार्यालयको २०८३ असोज २६ गतेको निर्णयअनुसार प्रकाशित सूचनासँगै उक्त कारबाही कार्यान्वयनमा आएको हो।
यो कम्पनीमाथि भएको कारबाही पहिलो भने होइन। यसअघि पुरातत्त्व विभागको सिफारिसमा २०८१ फागुनमा पनि कम्पनी एक वर्षका लागि कालोसूचीमा परेको थियो। पटक–पटक सरकारी कारबाहीमा पर्नुले कम्पनीको ठेक्का कार्यान्वयन र सार्वजनिक निकायप्रतिको दायित्वमाथि गम्भीर प्रश्न खडा गरेको छ।
साविक राजेन्द्र निर्माण सेवाले सुदूरपश्चिमका विभिन्न जिल्लामा ठेक्का लिएर काम अलपत्र पारेको आरोप खेप्दै आएको छ। राजनीतिक पहुँचका आधारमा ठेक्का हात पार्ने तर निर्धारित समयमा निर्माण सम्पन्न नगर्ने प्रवृत्तिसँग जोडेर पनि यो कम्पनीको आलोचना हुँदै आएको छ।
भीमबहादुर साउँद नेपाली कांग्रेस डडेल्धुराका सभापति हुन्। कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग उनको राजनीतिक निकटतासमेत चर्चामा आउने गरेको छ।
सरकारी खरिदमा पाँच कम्पनीलाई झट्का, एकलाई तीन वर्षको प्रतिबन्ध











