बझाङमा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

काठमाडौं । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएकोमा थप खोजीका क्रममा एक बालिकाको शव फेला परेपछि मृतकको संख्या चार पुगेको हो।
प्रहरीका अनुसार आज कात्तिक ३० गते बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट बुङ्गल नगरपालिका–११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भएर दुर्घटनामा परेको थियो। अनियन्त्रित अटो सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको थियो।
अटोमा चालकसहित ६ जना सवार रहेको खुलेको छ। दुर्घटनामा परी बुङ्गल नगरपालिका–१० की करिब ३५/४० वर्षीया राजमति महरा, १५/१६ वर्षीया तारा महरा र ५/६ वर्षीया डल्ली महराको घटनास्थलमै मृत्यु भएको थियो। थप खोजी गर्ने क्रममा सोही ठाउँकी करिब ४ वर्षीया रियास महराको शवसमेत फेला परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा सवार रहेका सोही ठाउँका करिब १२/१३ वर्षीय विक्रम महरा भने सकुशल रहेको र घरतर्फ गएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पुतलीलेक, इलाका प्रहरी कार्यालय बुङ्गल र जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले खोज तथा उद्धार कार्यसँगै घटनाबारे अनुसन्धान अघि बढाएको थियो।
दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको छ भने चालक बुङ्गल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।











