ग्लोबल फाइनान्सको मूल्यांकन: नेपालका गभर्नर पौडेललाई ‘बी’ ग्रेड

३० कार्तिक २०८३, सोमबार १५:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो कार्यसम्पादनको सकारात्मक मूल्यांकन पाएका छन् । अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन ‘ग्लोबल फाइनान्स’ले सार्वजनिक गरेको सन् २०२६ को केन्द्रीय बैंक गभर्नरहरूको मूल्यांकनमा पौडेल ‘बी’ ग्रेडमा परेका हुन् । विश्वका १०५ केन्द्रीय बैंकका प्रमुखको कार्यसम्पादन समेटिएको उक्त प्रतिवेदनले नेपालको मौद्रिक तथा आर्थिक व्यवस्थापनलाई सन्तोषजनक ठहर गरेको छ ।

गभर्नरहरूको मूल्यांकन सन् २०२५ जुलाईदेखि २०२६ जुनसम्मको अवधिमा उनीहरूले गरेका कामका आधारमा गरिएको हो । सन् २०२५ मेमा राष्ट्र बैंकको नेतृत्व सम्हालेका पौडेलले बाह्य क्षेत्रको सन्तुलन कायम राख्न र मूल्यवृद्धिलाई नियन्त्रणभित्र राख्न गरेको प्रयासले राम्रो अंक पाएको प्रतिवेदनमा उल्लेख छ । विशेषगरी विदेशी मुद्रा सञ्चितिमा भएको उल्लेखनीय वृद्धि नेपालको अर्थतन्त्रका लागि सकारात्मक पक्षका रूपमा चित्रित गरिएको छ ।

वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सको निरन्तर वृद्धिले नेपालको विदेशी विनिमय सञ्चिति २४ अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको थियो । उक्त सञ्चितिले करिब १९ महिनासम्म वस्तु तथा सेवाको आयात धान्न सक्ने अवस्था बनेको प्रतिवेदनले जनाएको छ । त्यस्तै, पौडेलको कार्यकालको सुरुवातमा मुद्रास्फीति १ देखि १.५ प्रतिशतसम्म झरेको र पछिल्लो समय बढेर करिब ५ प्रतिशत पुगे पनि निर्धारित सीमाभित्रै रहेको उल्लेख गरिएको छ । मौद्रिक नीतिमा गरिएको लचकताले ब्याजदर घटाउन तथा आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुर्‍याएको मूल्यांकन छ ।

यद्यपि, नेपालको बैंकिङ प्रणालीमा पर्याप्त तरलता उपलब्ध हुँदाहुँदै पनि निजी क्षेत्रमा कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न नसकेको विषयलाई चुनौतीका रूपमा औंल्याइएको छ । बैंक तथा वित्तीय संस्थामा १० खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम थुप्रिँदा पनि निजी क्षेत्रको कर्जा विस्तार ५ देखि ७ प्रतिशतमा सीमित भएको थियो । यस्तो वृद्धिदर राष्ट्र बैंकले राखेको १२ प्रतिशतको लक्ष्यभन्दा निकै कम हो । आगामी दिनमा वित्तीय क्षेत्रको प्रभावकारी नियमन, सुपरिवेक्षण क्षमता अभिवृद्धि तथा नेपाललाई एफएटीएफको ग्रे लिस्टबाट बाहिर निकाल्ने प्रयासलाई प्राथमिकता दिनुपर्ने प्रतिवेदनको सुझाव छ ।

ग्लोबल फाइनान्सको पछिल्लो मूल्यांकनले नेपालका गभर्नरहरूको कार्यसम्पादनमा क्रमिक सुधार भएको संकेत पनि गरेको छ । सन् २०२२ मा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले ‘सी’ ग्रेड पाएका थिए भने २०२३ मा उनको मूल्यांकन सुधारिएर ‘बी माइनस’ पुगेको थियो । यसपटक पौडेलले ‘बी’ ग्रेड हासिल गरेका हुन् । विश्वका १०५ केन्द्रीय बैंकमध्ये ८२ वटाले मात्र अक्षरका आधारमा ग्रेड पाएका छन् । तीमध्ये डेनमार्क र पेरुका गभर्नरले सर्वोत्कृष्ट ‘ए प्लस’ प्राप्त गरेका छन् भने भारतका गभर्नर ‘ए’ ग्रेडसहित दक्षिण एसियाली मुलुकमा अगाडि रहेका छन् ।

यस वर्षको सूचीमा नेपालका अतिरिक्त युगान्डा, जिम्बाब्वे, उरुग्वे, कजाकस्तान, स्विडेन, बेलायतलगायत १६ मुलुकका गभर्नर ‘बी’ श्रेणीमा समेटिएका छन् । श्रीलंकाले ‘बी प्लस’ र पाकिस्तानले ‘बी माइनस’ प्राप्त गर्दा बंगलादेशका गभर्नरको कार्यकाल एक वर्ष नपुगेकाले मूल्यांकन गरिएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*