अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु

२२ जेष्ठ २०८२, बिहीबार १३:२४

काठमाडौं । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ। अर्थ मन्त्रालयमा आयोजित बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबीच तादम्यता मिलाएर कार्य योजना बनाएर कार्यान्वयन गर्ने गृहकार्य थालिएको हो।

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमा समावेश भएका कार्यक्रम र आयोजनाका लागि खरिदसम्बन्धी तयारी कार्य अघि बढाउन निर्देशन दिएका छन्। बजेट स्वीकृत भएलगत्तै सम्झौता गर्न सकिने गरी तयारी गर्दा छिटो काम गर्न सजिलो हुने उनको भनाइ छ।

मुख्य सचिव एकनारायण अर्यालले खरिद प्रक्रिया अघि बढाउन थप ऐन कानून आवश्यक नभएको बताउँदै बजेटमा उल्लेख भएअनुसार खरिदका लागि तयारी प्रक्रिया अघि बढाउँदा हुने धारणा व्यक्त गरेका छन्।

बैठकमा चालू आर्थिक वर्षको पूँजीगत खर्च वृद्धिमा विशेष ध्यान दिनुपर्नेबारे पनि छलफल भएको थियो।

बैठकमा अर्थ सचिव घनश्याम उपाध्यायले स्रोत सुनिश्चित भएका र आवश्यक कागजात जुटाइएका योजना तथा कार्यक्रमहरूको सन्दर्भमा रकमान्तर लगायतका विषयमा अर्थ मन्त्रालयले तत्काल सहजीकरण गर्ने बताए।

उनले स्रोत सहमति भइसकेका र कागजात पुरा भएका आयोजना तथा कार्यक्रमहरूको सहजीकरणका लागि आवश्यक परे बिदा र शनिबार पनि काम गरिने बताएका छन्। साथै प्रकृया पुगेका र यथार्थमा हुन सक्ने काम मात्र अर्थ मन्त्रालयमा पठाउन सम्बन्धित मन्त्रालयका सचिवहरूलाई अनुरोध गरिएको छ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जल स्रोत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय लगायतका सचिवहरू उपस्थिति थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*