गणपति लघुवित्तले बोलायो साधारणसभा, यस्ता छन् प्रस्ताव

१९ फाल्गुन २०८२, मंगलवार ०६:५०

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले चैत १३ गते शुक्रबार कास्की जिल्लाको पोखरा–३१ बेगनासस्थित होटल डेब्रेकमा बिहान साढे ११ बजे नवौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ।

उक्त साधारणसभाले सञ्चालक समितिका अध्यक्षबाट पेश गरिने गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, गत असार मसान्तसम्मको लेखापरीक्षकको प्रतिवेदन र वासलात सहित गत आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ।

त्यसैगरी संस्थापक शेयरधनीहरूका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरूको निर्वाचन गर्ने र एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरू गाभ्ने/गाभिने तथा प्राप्त गर्ने प्रयोजनका लागि उपयुक्त संस्थाहरू पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिने, सम्पत्ति तथा दायित्वहरूको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने र सम्बन्धित कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

कम्पनीको गत माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरिसकेकोले यस सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरिएको छैन। साधारणसभाका लागि कम्पनीको शेयरधनी शेयर दाखिला/खारेज (बूक क्लोज) चैत ३ गते बन्द रहनेछ। शेयरधनी दर्ता पुस्तिका बन्द भएको मितिको अघिल्लो दिन चैत २ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट कारोबार भई हितग्राही खातामा कायम भएका शेयरधनीहरूले मात्र सो सभामा भाग लिन र मतदान गर्न योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*