बालेनले जिते निजी क्षेत्रको मन, उत्साहित बने व्यवसायी

२४ असार २०८३, बुधबार १८:१४

काठमाडौँ । वालेन्द्र शाहले सरकार गठनभएपछि पहिलो पटक निजि क्षेत्रका प्रतिनिधिहरुसँग भेट गरेका छन् । बुधबार उद्योग, व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका उद्योगी–व्यवसायीका प्रतिनिधिहरूसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा शाहले निजी क्षेत्रका प्रतिनिधिहरूसँग मुलुकको आर्थिक गतिविधिलाई चलायमान तथा सुदृढ बनाउने, उद्योग–व्यवसायका गतिविधिलाई तीव्र बनाउन सरकारले आवश्यक सहजीकरण गर्ने तथा लगानीमैत्री वातावरण निर्माण गर्ने विषयमा छलफल गरेका हुन् । उनले नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत धारणा राखेका थिए ।

छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग–व्यवसाय प्रवद्र्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार–निजी क्षेत्रबीच नियमित, प्रभावकारी र परिणाममुखी संवादको आवश्यकताबारे सुझाव प्रस्तुत गरेका हुन् । शाहसँगको भेटपछि निजि क्षेत्र उत्साहित बनेको छ ।

छलफलमा सहभागी भएका नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकुमार अग्रवालले व्यवसायलाई मर्यादित र सहज बनाउने क्रममा राजस्व नीति, शेयर बजार र एमआरपी लगायतका विषयमा कुराकानी भएको बताए । उनले भने, ‘प्रधानमन्त्रीले निजी क्षेत्रका सबै कुरा ध्यानपूर्वक सुन्नुभयो । निजी क्षेत्रका धेरै विषय अगाडि बढाइसकेका पनि छौँ । हाम्रो उद्देश्य निजी क्षेत्रलाई नै अर्थतन्त्रको ड्राइभिङ सिटमा राखेर अगाडि बढाउने हो । अहिलेसम्म जे–जस्तो भयो, अब अन्तरक्रियालाई निरन्तरता दिनेछौँ । निजी क्षेत्रले उठाएका समग्र विषय आएमा त्यसलाई सकारात्मक रूपमा लिन सकिन्छ । निजी क्षेत्रको मनोबल बढाउन प्रधानमन्त्रीले धेरै प्रोत्साहन गर्नुभएको छ ।”

व्यवसायीहरूलाई तर्साउने वा अनावश्यक धरपकड गर्ने सरकारको कुनै नीति नरहेको र कानुनसम्मत ढङ्गले व्यवसाय गर्ने वातावरणका लागि सरकार सदैव सकारात्मक रहेको सन्देश पनि यस बालेनले दिएको बताए ।
शाहसँगको भेटलाई चेम्बरका उपाध्यक्ष दीपक मल्होत्राले समेत सकारात्मक रुपमा ग्रहण गरे । उनले अर्थतन्त्रका विविध आयामबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताए ।

उनले उद्योगहरूका लागि जग्गा हदबन्दीको समस्या समाधान गर्नुपर्ने, सीमा नाकाबाट हुने अनाधिकृत व्यापार नियन्त्रण गर्नुपर्ने,सार्वजनिक–निजी साझेदारी र सरकार र निजी क्षेत्रको साझेदारीमा सञ्चालन गर्नुपर्ने मागहरू राखेको जानकारी दिए ।

डेढ घण्टाको बसाइमा प्रधानमन्त्रीले करिब २५ मिनेट व्यवसायीका कुरा सुनेका थिए । प्रधानमन्त्रीले अर्थतन्त्रको शिथिलता अन्त्य गर्न सरकार एकदमै सक्रिय भएको बालेन शाहको तर्क रहेको थियो ।

महासङ्घका उद्योग समिति सभापति उज्ज्वलकुमार श्रेष्ठले नयाँ उत्साह थपेको बताएका छन् । भेटमा मुख्यतया मुलुकको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले सामना गरिरहेका चुनौती र तिनको दीर्घकालीन समाधानका उपायहरूमा केन्द्रित भएको बताए ।

प्रधानमन्त्रीले निजी क्षेत्रलाई देश बनाउने मुख्य शक्तिका रूपमा उल्लेख गरे । शाहले समस्याको सूची मात्र नभई समाधानको उपाय र ठोस कार्ययोजना लिएर निजि क्षेत्रलाई सरकार समक्ष आउन आव्हान समे गरे ।

उक्त बैठक तथा छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा. घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा सांसद विदुषी राणा सहभागी भएका थिए ।

व्यवसायीसँग बालेनको पहिलो संवाद: ‘अर्थतन्त्रको ड्राइभिङ सिटमा निजी क्षेत्र राख्छौं, धरपकड गर्ने उद्देश्य छैन’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*