फोर्डको बिक्री सुस्ताएसँगै जीओ अटोमोबाइल्सको व्यापार ५० करोडमा खुम्चियो, सञ्चालन नाफा ऋणात्मक

काठमाडौँ । नेपाली अटो बजारमा कुनै समय बलियो उपस्थिति बनाएको जीओ अटोमोबाइल्स प्रालिको व्यापार पछिल्ला केही वर्षयता निरन्तर खुम्चिँदै गएको छ। फोर्ड, एमजी (भारतमा एसेम्बल गरिएका केही निश्चित मोडल मात्र) र काइयी ब्रान्डका सवारीसाधन बिक्री गर्दै आएको कम्पनीको आम्दानी निरन्तर ओरालो लागि रहेको हो ।
कुनै समय नेपाली अटो बजारमा प्रभावशाली मानिएको कम्पनीका ब्रान्ड पछिल्लो समय बिक्रीमा कमजोर देखिएका छन्। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा कम्पनीको व्यापार ५० करोड १० लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ७९ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो।
आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको व्यापार १ अर्ब ६५ करोड २० लाख रुपैयाँ पुगेको थियो। त्यसपछि भने कम्पनीको व्यापार निरन्तर ओरालो लाग्दै आएको छ। आर्थिक वर्ष २०७९/८० मा व्यापार ८२ करोड ९० लाख रुपैयाँमा झरेको थियो भने आर्थिक वर्ष २०८०/८१ मा ८३ करोड ७० लाख रुपैयाँमा सीमित रह्यो। त्यसपछि पनि गिरावट जारी रहँदै चालु आर्थिक वर्षको नौ महिनामा व्यापार आधाभन्दा कममा झरेको अवस्था देखिएको छ।
कम्पनीको व्यापार कमजोर बन्नुमा नेपाली बजारमा फोर्ड ब्रान्डको छवि प्रभावित हुनु प्रमुख कारणमध्ये एक मानिएको छ। पछिल्ला वर्षहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा फोर्ड ब्रान्डका सवारीसाधन दुर्घटनामा परेका घटनाले उपभोक्तामा नकारात्मक धारणा निर्माण गरेको छ। लगातार सार्वजनिक भएका दुर्घटनाका घटनाले उपभोक्तालाई त्रसित बनाएको र त्यसको प्रत्यक्ष असर बिक्रीमा परेको देखिन्छ।
यससँगै अमेरिकी सवारी निर्माता फोर्डले सन् २०२१ को सेप्टेम्बरदेखि भारतस्थित आफ्नो उत्पादन केन्द्र बन्द गरेपछि कम्पनीको व्यापार थप संकटमा परेको छ। हाल कम्पनीले मुख्य रूपमा थाइल्यान्डलगायतबाट आयात हुने रेन्जर र एभरेस्ट मोडल बिक्री गर्दै आएको छ। साथै कम्पनीले म्याक्सस, काइयी र लिप मोटरजस्ता नयाँ ब्रान्डमार्फत नयाँ बजार खण्डमा प्रवेश गर्ने प्रयास गरेको छ। तर यी नयाँ ब्रान्डले हालसम्म कम्पनीको आम्दानी र नाफामा उल्लेखनीय योगदान दिन सकेका छैनन्।
जीओ अटोमोबाइल्सको सञ्चालन नाफा लगातार ऋणात्मक अवस्थामा पुगेको छ। आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन आम्दानीको ३.९ प्रतिशत बराबर सञ्चालन नाफा कमाएको कम्पनी त्यसपछिका सबै वर्ष घाटामा पुगेको छ। आर्थिक वर्ष २०७९/८० मा सञ्चालन घाटा ६.९ प्रतिशत पुगेको थियो। आर्थिक वर्ष २०८०/८१ मा ५.१ प्रतिशत, आर्थिक वर्ष २०८१/८२ मा ५.६ प्रतिशत सञ्चालन घाटा रहेको कम्पनी चालु आर्थिक वर्षको पहिलो नौ महिनामा पनि ४.९ प्रतिशत सञ्चालन घाटामा रहेको छ। यसले कम्पनीको मूल व्यवसायबाट नै खर्च धान्न कठिन बन्दै गएको देखिन्छ ।
कम्पनीको ऋण दायित्व पनि क्रमशः बढिरहेको देखिन्छ। कुल ऋण र मूर्त खुद सम्पत्तिबीचको अनुपात आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ सम्म ०.३ गुणामा स्थिर रहेको थियो। तर आर्थिक वर्ष २०८१/८२ मा यो बढेर ०.५ गुणा पुगेको थियो। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा यो केही घटेर ०.४ गुणामा आए पनि अझै उल्लेख्य स्तरमै रहेको छ।
त्यस्तै कुल बाह्य दायित्व र मूर्त खुद सम्पत्तिबीचको अनुपात पनि लगातार दबाबपूर्ण अवस्थामा रहेको छ। आर्थिक वर्ष २०७८/७९ मा ०.४ गुणा रहेको यो अनुपात आर्थिक वर्ष २०७९/८० मा ०.५ गुणा पुगेको थियो। आर्थिक वर्ष २०८०/८१ मा ०.४ गुणामा झरे पनि आर्थिक वर्ष २०८१/८२ मा बढेर ०.७ गुणा पुगेको थियो। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा पनि यही अनुपात ०.७ गुणामै कायम रहेको छ।
सञ्चालन आम्दानीबाट ऋण धान्ने क्षमता पनि वर्षेनि कमजोर बन्दै गएको छ। आर्थिक वर्ष २०७८/७९ मा कुल ऋण र सञ्चालन नाफाबीचको अनुपात ५ गुणा रहेको थियो। त्यसपछिका सबै वर्ष सञ्चालन घाटा भएकाले यो सूचक ऋणात्मक बनेको छ। आर्थिक वर्ष २०७९/८० मा ऋणात्मक ५.१ गुणा, आर्थिक वर्ष २०८०/८१ मा ऋणात्मक ५.३ गुणा, आर्थिक वर्ष २०८१/८२ मा ऋणात्मक ९.१ गुणा र चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ऋणात्मक ११.४ गुणासम्म पुगेको छ।
ब्याज भुक्तानी गर्ने क्षमता पनि सन्तोषजनक देखिएको छैन। आर्थिक वर्ष २०७८/७९ मा ब्याज तिर्ने क्षमता २ गुणा रहेको कम्पनी त्यसपछि लगातार कमजोर बनेको छ। आर्थिक वर्ष २०७९/८० मा यो ऋणात्मक १.४ गुणा, आर्थिक वर्ष २०८०/८१ मा ऋणात्मक १.३ गुणा, आर्थिक वर्ष २०८१/८२ मा ऋणात्मक १.५ गुणा तथा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ऋणात्मक १.३ गुणामा सीमित भएको छ।
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले प्राप्त गरेको सञ्चालन आम्दानीमध्ये करिब ५३ प्रतिशत हिस्सा भारतको फोर्ड कम्पनीबाट प्राप्त ‘ब्रान्ड संरक्षण सहयोग’ रहेको उल्लेख गरिएको छ। फोर्ड ब्रान्डका सवारीसाधनको सेवा पूर्वाधार निरन्तर सञ्चालनमा राख्न प्रदान गरिएको यो सहयोग आर्थिक वर्ष २०८२/८३ पछि बन्द हुने भएको छ। यससँगै कम्पनीले आगामी दिनमा आफ्नै नियमित व्यापारबाट पर्याप्त आम्दानी गरेर सञ्चालन खर्च र ऋणको दायित्व धान्न सक्ने क्षमता विकास गर्नुपर्ने छ।
यसबीच बजारमा बढ्दो प्रतिस्पर्धाले कम्पनीमाथिको दबाब अझ बढाएको छ। कम्पनीको आम्दानी मुख्य रूपमा फोर्डका उच्च मूल्यका पिकअप तथा स्पोर्ट्स युटिलिटी भेहिकल रेन्जर र एभरेस्ट तथा काइयी ब्रान्डका सवारीसाधनको बिक्रीमा निर्भर रहेको छ। मध्यम मूल्यका सवारीसाधनको बजारमा कम्पनीको उपस्थिति नरहेकाले टोयोटा, मित्सुबिसीलगायतका प्रतिस्पर्धी ब्रान्डसँग कडा प्रतिस्पर्धा गर्नुपरेको अवस्था छ। यसले पनि कम्पनीको बजार विस्तारको सम्भावना कमजोर बनाएको देखिन्छ।
जीओ अटोमोबाइल्स गोल्छा परिवारका तीन सदस्यद्वारा प्रवर्द्धित कम्पनी हो। कम्पनीमा करिब ७१ प्रतिशत स्वामित्व प्रबन्ध निर्देशक आकाश गोल्छासँग रहेको छ। करिब आठ दशकदेखि नेपालमा उत्पादन तथा व्यापारका विभिन्न क्षेत्रमा सक्रिय गोल्छा अर्गनाइजेसनअन्तर्गत रहेको कम्पनीले हाल सात क्षेत्रीय डिलर तथा एक आफ्नै सोरुम र बिक्री केन्द्रमार्फत कारोबार सञ्चालन गर्दै आएको छ।
इक्रा नेपालले जीओ अटोमोबाइल्स प्राइभेट लिमिटेडको कर्जा सुविधाको साविकको मूल्याङ्कन यथावत् राखेको छ। संस्थाले कम्पनीको १० करोड ५० लाख रुपैयाँ बराबरको दीर्घकालीन कर्जा सीमामा ‘एलबीबी’ श्रेणीको मूल्याङ्कन पुनः पुष्टि गरेको छ भने ६९ करोड रुपैयाँ बराबरको अल्पकालीन कर्जा सीमामा ‘ए४’ श्रेणीको मूल्याङ्कन पनि पुनः पुष्टि गरेको हो। यसअघि कम्पनीको दीर्घकालीन कर्जा सीमा १४ करोड रुपैयाँ र अल्पकालीन कर्जा सीमा ५७ करोड रुपैयाँ रहेको थियो।
कम्पनीको कुल कर्जा सीमा ७१ करोड रुपैयाँबाट बढेर ७९ करोड ५० लाख रुपैयाँ पुगेको छ।
सम्बन्धीत समाचार:
फोर्डका गाडीमा गम्भीर समस्या, ३ लाखभन्दा बढी गाडी ‘रिकल’
ईभी गुणस्तरमै प्रश्न उठेपछि फोर्ड पछि हट्यो, विभिन्न मोडलका उत्पादन नै बन्द
गुडिरहेको बेला सडकमा नै जल्यो फोर्ड ब्रान्डको गाडी, गुणस्तरमाथि गम्भीर प्रश्न
फोर्ड ब्रान्डका गाडी बिक्री हुनै सकस, व्यापार घट्दा आकाश गोल्छाको कम्पनी धरापमा
फोर्डका गाडी गुणस्तरहीन, कम्पनीको त्रुटिका कारण ७३ हजार सवारी फिर्ता
फोर्ड कम्पनीको कार खस्यो काठमाडौंको धोबिखोलामा











