दोस्रो बजार सुधारका योजना कार्यान्वयन गर्न समन्वय समिति गठन

काठमाडौं । दोस्रो बजार सुधार योजनालाई चरणबद्ध रूपमा कार्यान्वयन गर्न समन्वय तथा सहजीकरण गर्ने उद्देश्यले समिति गठन गरिएको छ। नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य तथा धितोपत्र बोर्डको आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिमा उल्लेख भएका विषयहरूलाई क्रमशः कार्यान्वयन गर्दै लैजाने क्रममा मार्जिन ऋण, एकै दिनभित्र हुने खरिद–बिक्री कारोबार, धितोपत्र सापटी तथा उधारो र छोटो बिक्रीलगायत दोस्रो बजार सुधार योजनाको कार्यान्वयनका लागि बोर्डको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा समिति गठन गरिएको हो।
समितिमा बोर्डका तर्फबाट तीन जना प्रतिनिधि रहेका छन् भने नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एन्ड क्लियरिङ लिमिटेड र स्टक ब्रोकर एसोसिएसन अफ नेपालका तर्फबाट एक–एक जना प्रतिनिधिको सहभागिता रहेको छ।
समितिको कार्यादेशमा मार्जिन ऋण, एकै दिनभित्र हुने खरिद–बिक्री कारोबार, धितोपत्र सापटी तथा उधारो तथा छोटो बिक्रीका लागि आवश्यक कानुनी, प्राविधिक, सञ्चालन तथा प्रक्रियागत व्यवस्थाबारे सुझाव दिने, ती सेवाको चरणबद्ध कार्यान्वयनका लागि आवश्यक तयारी गर्ने, धितोपत्रको दोस्रो बजार सुधार योजनासँग सम्बन्धित कार्यमा समन्वय तथा सहजीकरण गर्ने तथा आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्था लगायत अन्य निकायसँग सहकार्य गर्ने विषय समेटिएका छन्।
बोर्डले धितोपत्रको दोस्रो बजारसँग सम्बन्धित विभिन्न सेवा चरणबद्ध रूपमा विस्तार गर्ने नीति अनुरूप पहिलो चरणमा मार्जिन ऋण, दोस्रो चरणमा एकै दिनभित्र हुने खरिद–बिक्री कारोबार, तेस्रो चरणमा धितोपत्र सापटी तथा उधारो तथा चौथो चरणमा आवरणयुक्त छोटो बिक्रीको व्यवस्था लागू गर्ने योजना अघि बढाएको छ।











