राताम्य पुँजी बजारः हैरानीमा शेयर लगानीकर्ता, सरकारका प्रयास किन असफल ?

२१ श्रावण २०८३, बिहीबार १५:०४

काठमाडौँ । शेयर बजार आज राताम्य भएको छ । अघिल्लो कारोबार दिन सामान्य सुधार देखिए पनि त्यो उत्साह टिक्न नसक्दा बजार फेरि राताम्मे बनेको हो । नेप्से परिसूचकसँगै दैनिक कारोबार रकम पनि खुम्चिँदै गएको छ । स्पष्ट दिशा लिन नसकेको बजारमा अधिकांश लगानीकर्ता अहिले नयाँ जोखिम उठाउनुभन्दा ‘पर्ख र हेर’को रणनीतिमा देखिएका छन् ।

बजारमा लगातार देखिएको गिरावटले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ। विशेषगरी छोटो अवधिका लगानीकर्ताले नाफा सुरक्षित गर्न बिक्री बढाउँदा बजारमा थप दबाब सिर्जना भएको विश्लेषण गरिएको छ। साना तथा नयाँ लगानीकर्तामा अन्योल बढ्दै गएको छ भने दीर्घकालीन लगानीकर्तासमेत बजारको आगामी दिशा स्पष्ट नभएसम्म सतर्क रूपमा अघि बढिरहेका छन्। कारोबार रकम घट्दै जानु र खरिदतर्फको सक्रियता कमजोर हुनु पनि बजारमा विश्वास अझै पूर्ण रूपमा फर्किन नसकेको संकेतका रूपमा हेरिएको छ।

सरकारले पूँजीबजार सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता पटक–पटक दोहोर्याए पनि त्यसअनुसारको प्रभावकारी कार्यान्वयन नदेखिएको भन्दै लगानीकर्ताले असन्तुष्टि व्यक्त गरिरहेका छन्। नीतिगत सुधार, नियामकीय व्यवस्था र कार्यान्वयनबीचको दूरीका कारण बजारमा सकारात्मक मनोविज्ञान टिक्न नसकेको उनीहरूको भनाइ छ। लगानीकर्ताहरू स्पष्ट कार्ययोजना, समयमै निर्णय र लगानीमैत्री वातावरण निर्माण भए मात्र बजारमा स्थायित्व र विश्वास फर्किने अपेक्षामा छन्।

बजार विश्लेषकहरूका अनुसार तत्काल ठूलो सुधार आउने आधार अझै बलियो देखिँदैन। आगामी केही कारोबार दिनमा पनि बजारमा उतारचढाव, बिक्री दबाब र नाफा सुरक्षित गर्ने प्रवृत्ति कायम रहने सम्भावना छ। बैंकिङ प्रणालीमा रहेको तरलता, ब्याजदरको दिशा, सूचीकृत कम्पनीहरूको वित्तीय नतिजा, नियामकीय नीतिगत स्पष्टता तथा समग्र आर्थिक गतिविधिले नेप्सेको आगामी यात्रालाई निर्धारण गर्ने प्रमुख आधार हुने विश्लेषकहरूको भनाइ छ। त्यसैले अधिकांश लगानीकर्ता तत्काल आक्रामक लगानीभन्दा बजारको स्पष्ट संकेत पर्खिने रणनीतिमै रहेको देखिन्छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८२ अकंले घटेर २६५४.१५ बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको १ करोड ८ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड २७ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ उपसूचक राताम्य भएका छन् भने एक उपसूचकमा मात्रै सुधार देखिएको हो । आज व्यापार समूहको शेयर मुल्य मात्रै ०.५९ प्रतिशतले बढेको छ ।

बिहिबार ६४ कम्पनीको शेयर मूल्य बढेको छ भने २०२ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*