सरकारका आश्वासनले पनि फर्केन बजारको विश्वासः कारोबार खुम्चियो, त्रसित लगानीकर्ता !

काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । पछिल्ला समय शेयर बजार सुस्त रहदा लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको हो । परिसूचकसँगै दैनिक कारोबार रकम पनि क्रमशः खुम्चिँदै जाँदा बजारमा खरिदकर्ताको सक्रियता कमजोर बनेको देखिएको छ ।
स्पष्ट दिशा लिन नसकेको बजारमा अधिकांश लगानीकर्ता नयाँ लगानी थप्नेभन्दा ‘पर्ख र हेर’को रणनीतिमा केन्द्रित भएका छन् । छोटो अवधिका लगानीकर्ताले नाफा सुरक्षित गर्न बिक्री बढाइरहेका बेला नयाँ लगानीकर्ता भने अन्योलमा देखिएका छन् । कारोबार रकममा आएको संकुचनले बजारमा विश्वास अझै पूर्ण रूपमा फर्किन नसकेको संकेत गरेको विश्लेषकहरूको भनाइ छ ।
लगातारको गिरावटले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ । सरकारको नेतृत्वबाट पूँजीबजार सुधारका पक्षमा पटक–पटक सकारात्मक प्रतिबद्धता आए पनि त्यसको प्रभाव बजारमा देखिन नसकेको भन्दै लगानीकर्ताले असन्तुष्टि व्यक्त गरिरहेका छन् । बालेन शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेले नीतिगत सुधार, लगानीमैत्री वातावरण र बजार विकासका विषयमा सकारात्मक सन्देश दिँदै आएका भए पनि त्यसअनुसारको कार्यान्वयनमा ढिलाइ भएको धारणा लगानीकर्ताको छ । नियामकीय सुधार, स्पष्ट कार्ययोजना र समयमै निर्णय हुन नसक्दा बजारमा सकारात्मक मनोविज्ञान टिक्न नसकेको र यसले लगानीकर्तालाई थप सतर्क बनाएको विश्लेषण गरिएको छ ।
बजार विश्लेषकहरूका अनुसार तत्कालै ठूलो सुधार आउने बलियो आधार अझै देखिएको छैन । आगामी केही कारोबार दिनमा पनि बजारमा उतारचढाव, बिक्री दबाब र नाफा सुरक्षित गर्ने प्रवृत्ति कायम रहने सम्भावना रहेको उनीहरूको भनाइ छ । बैंकिङ प्रणालीमा रहेको तरलताको अवस्था, ब्याजदरको दिशा, सूचीकृत कम्पनीहरूको वित्तीय विवरण, नियामकीय नीतिगत स्पष्टता तथा समग्र आर्थिक गतिविधिले आगामी दिनमा नेप्सेको दिशा तय गर्ने प्रमुख आधार हुने विश्लेषण गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.०५ अकंले बढेर २६५०.०९ बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको १ करोड २ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड ८८ लाख ७० हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन ९ उपसूचक राताम्य भएको छ भने ४ उपसूचकमा सामान्य सुधार देखिएको हो । आज सर्वाधिक फाइनान्स समूहको शेयर मूल्य धेरै घटेको हो ।
शुक्रबार ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १८४ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।












