गुम्दै लगानीकर्ताको लगानीः बालेन र स्वर्णिमको प्रयास असफल, के खोजि रहेको छ मार्केट ?

२५ श्रावण २०८३, सोमबार १५:०५

काठमाडौँ । शेयर बजारमा देखिएको गिरावटले सोमबार पनि निरन्तरता पाएको छ । पछिल्लो केही समयदेखि नेप्से परिसूचक लगातार दबाबमा रहँदा बजारमा लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको देखिएको हो । परिसूचकसँगै दैनिक कारोबार रकमसमेत क्रमशः खुम्चिँदै गएपछि बजारमा खरिदकर्ताको सक्रियता घटेको संकेत देखिएको हो । बजारले स्पष्ट दिशा लिन नसक्दा लगानीकर्तामा अन्योल बढेको छ भने नयाँ लगानी थप्नुभन्दा जोखिम मूल्यांकन गर्दै ‘पर्ख र हेर’को रणनीति अपनाउने प्रवृत्ति बलियो बनेको छ ।

पछिल्लो समय बजारमा बिक्री दबाब बढ्दै गएको देखिन्छ । छोटो अवधिका लगानीकर्ताले यसअघिको नाफा सुरक्षित गर्न बिक्री बढाइरहेका छन् भने नयाँ लगानीकर्ता बजारको आगामी दिशा स्पष्ट नभएसम्म प्रवेश गर्न हिच्किचाइरहेका छन् । कारोबार रकममा आएको निरन्तर संकुचनले बजारमा पर्याप्त माग सिर्जना हुन नसकेको देखाउँछ । परिसूचक घट्नुका साथै कारोबार रकम पनि घट्दै जानुले बजारमा लगानीकर्ताको विश्वास पूर्ण रूपमा फर्किन नसकेको संकेत गरेको बजार विश्लेषकहरू बताउँछन् ।

यसबीच सरकार र नियामकीय निकायबाट पूँजीबजार सुधारका विषयमा व्यक्त हुँदै आएका प्रतिबद्धताले अपेक्षाअनुसार बजारलाई उत्साहित बनाउन सकेका छैनन् । सरकारको नेतृत्व तथा अर्थमन्त्री स्वर्णिम वाग्लेलगायतबाट नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण र पूँजीबजार विकासका विषयमा सकारात्मक सन्देश दिइँदै आए पनि त्यसको प्रभाव व्यवहारमा देखिन नसकेको भन्दै लगानीकर्ताले असन्तुष्टि जनाउँदै आएका छन् । बालेन शाह तथा अर्थमन्त्री वाग्लेबाट बजार सुधार र लगानीकर्ताको विश्वास बढाउने विषयमा सकारात्मक धारणा सार्वजनिक भए पनि प्रतिबद्धताअनुसार ठोस कार्यान्वयन हुन नसकेको लगानीकर्ताको गुनासो छ । नियामकीय सुधारमा ढिलाइ, स्पष्ट कार्ययोजनाको अभाव तथा महत्वपूर्ण निर्णय समयमै हुन नसक्दा बजारमा सकारात्मक मनोविज्ञान टिकाउन कठिन भएको उनीहरूको भनाइ छ ।

बजार विश्लेषकहरू भने तत्कालै ठूलो सुधार आउने बलियो आधार अझै स्पष्ट नभएको बताउँछन् । बजारमा लगानीकर्ताको मनोबल कमजोर रहेका कारण आगामी केही कारोबार दिनमा समेत उतारचढाव, बिक्री दबाब र नाफा सुरक्षित गर्ने प्रवृत्ति कायम रहन सक्ने उनीहरूको आकलन छ । बजारमा नयाँ लगानीको प्रवाह बढ्नका लागि सरकार तथा नियामकीय निकायबाट स्पष्ट र प्रभावकारी कदम आवश्यक रहेको उनीहरूको भनाइ छ । विशेषगरी पूँजीबजारसँग सम्बन्धित नीतिगत अस्पष्टता हटाउने, लगानीकर्ताको विश्वास बढाउने र बजार विकासका लागि दीर्घकालीन योजना कार्यान्वयनमा ल्याउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.०४ अकंले घटेर २६४१.०५ बिन्दुमा कायम भएको छ । आज ३५२ कम्पनीको १ करोड ९ लाख ५६ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६६ करोड ९१ लाख २९ हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन ९ उपसूचक राताम्य भएका छन् भने ४ उपसूचकमा सामान्य सुधार देखिएको छ । आज वाणिज्य बैंक र व्यापार समूहको शेयर मूल्य सर्वाधिक घटेको हो ।

सोमबार ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८० कम्पनीको घटेको छ । आज १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*