क्रिस्टल कञ्चनजंघा सेक्युरिटिजमा मार्जिन कारोबार सुविधा

काठमाडौँ । क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५०) ले आफ्ना योग्य ग्राहक तथा लगानीकर्ताका लागि मार्जिन कारोबार सुविधा सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डको नियामकीय व्यवस्था तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले तोकेको कार्यविधिअनुसार कम्पनीले मार्जिन कारोबार सेवा प्रारम्भ गरेको जनाएको हो ।
कम्पनीका अनुसार यो सुविधाअन्तर्गत योग्य लगानीकर्ताले तोकिएको प्रारम्भिक मार्जिन रकम जम्मा गरी कम्पनीमार्फत सुविधा लिन सक्नेछन् । मार्जिन कारोबारका लागि कम्पनीले ३० प्रतिशत प्रारम्भिक मार्जिन र ७० प्रतिशत मार्जिन ऋणमा आधारित योजना प्रस्तुत गरेको छ । यसअन्तर्गत योग्य सूचीमा रहेका कम्पनीका शेयरहरू खरिद गर्न सुविधा उपलब्ध हुनेछ ।
मार्जिन कारोबार सुविधा लिन इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित कम्पनीको कार्यालयमा उपस्थित भई आवेदन दिनुपर्नेछ । सुविधा प्रदान गर्दा प्रचलित कानुन, नियामकीय व्यवस्था तथा कम्पनीको आन्तरिक जोखिम व्यवस्थापन नीतिअनुसार प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
कम्पनीले सार्वजनिक गरेको योजनाअनुसार १० लाख रुपैयाँको कारोबार सीमामा ७ लाख रुपैयाँ, २० लाखको सीमामा १४ लाख रुपैयाँ, ३० लाखको सीमामा २१ लाख रुपैयाँ, ४० लाखको सीमामा २८ लाख रुपैयाँ, ५० लाखको सीमामा ३५ लाख रुपैयाँ, १ करोडको सीमामा ७० लाख रुपैयाँ र २ करोड रुपैयाँको सीमामा १ करोड ४० लाख रुपैयाँसम्म मार्जिन ऋण उपलब्ध हुनेछ ।












