नेप्सेको सिईओको लागि आठ जनाको आवेदन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) को सिईओको लागि आठजनाको आवेदन परेको छ ।
अर्थ मन्त्रालयका अनुसार आवेदन दिने अन्तिम समयसम्ममा ८ वटा आवेदन दर्ता भएका हुन्।
अब सीईओ छनोटका लागि गठित सिफारिस समितिले आवेदकहरूले पेश गरेको व्यावसायिक कार्ययोजना ९बिजनेस प्लान० को मूल्याङ्कन प्रक्रिया अघि बढाउनेछ।
अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालका अनुसार विज्ञहरूमार्फत कार्ययोजनाको मूल्याङ्कन गरिसकेपछि उत्कृष्ट उम्मेदवारहरूको सर्टलिस्ट तयार पारिनेछ। सर्टलिस्टमा परेका उम्मेदवारहरूले आफ्नो कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ। यो सम्पूर्ण छनोट प्रक्रिया टुंगिएर नेप्सेले नयाँ नेतृत्व पाउने प्रवक्ता लम्सालले जानकारी दिए।
यसअघि सिफारिस समितिले साउन १२ गतेदेखि २६ गतेसम्मका लागि आवेदन खुला गरेको थियो। सीईओ पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन वा सूचना प्रविधि जस्ता विषयमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी ९सीए० गरेको हुनुपर्ने शैक्षिक योग्यता तोकिएको छ। साथै, पूँजी बजार वा वित्तीय क्षेत्रमा कम्तीमा १५ वर्षको कार्यअनुभव र त्यसमध्ये ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवलाई अनिवार्य मापदण्ड बनाइएको छ।











