धनुषा डिष्टिलरीको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । धनुषा डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा धनुषा डिष्टिलरीका अध्यक्ष किसन कुमार धनावत र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार कम्पनीले भविष्यमा जारी हुने कुल पूँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्नेछ ।
सन् १९९८ मा स्थापना भएको धनुषा डिष्टिलरीले उद्योग विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र लिएर मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता ९१ लाख ८० हजार लिटर रहेको छ । हाल कम्पनीले मुस्ताङ गोल्ड ह्विस्की र मुस्ताङ भोड्का उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले आगामी दिनमा थप नयाँ उत्पादन बजारमा ल्याउने तयारी गरेको छ । उत्पादनको गुणस्तर कायम राख्दै व्यवसाय विस्तार तथा उत्पादन विविधीकरणलाई अघि बढाउने योजना कम्पनीको छ । नेपाली बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्षम बन्ने लक्ष्यसहित कम्पनीले विस्तारको रणनीति अघि सारेको जनाएको छ ।











