वाणिज्य बैंकहरूले भदौ महिनाको नयाँ ब्याजदर सार्वजनिक, कुनको घट्यो, बढ्यो ?

काठमाडौं । हाल नेपालमा संचालनमा रहेका वाणिज्य बैंकहरूले भदौ महिनाका नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। भदौ महिनामा पनि निक्षेपको औसत ब्याजदरमा थप गिरावट आएको छ।
भदौ महिना व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर साउनको ४।१६७५ प्रतिशतविन्दुबाट ०।०३१५ प्रतिशतविन्दु घटेर ४।१३६ प्रतिशतविन्दुमा झरेको छ भने संस्थागत निक्षेपको औसत दर पनि ३।११६ प्रतिशतविन्दुबाट घटेर ३।०८१ प्रतिशतविन्दुमा झरेको छ।

भदौ महिनाका लागि कुल ५ वटा बैंकहरूले ब्याजदर घटाएका छन्। सिद्धार्थ बैंकले व्यक्तिगततर्फ सबैभन्दा बढी ०।२९ प्रतिशतविन्दु र संस्थागततर्फ ०।२ प्रतिशतविन्दुले ब्याजदर कटौती गरी नयाँ दर क्रमशः ३।७६ प्रतिशत र ३।०५ प्रतिशत कायम गरेको छ। यस्तै नेपाल बैंकले व्यक्तिगतमा ०।१ प्रतिशतविन्दु र संस्थागतमा ०।५ प्रतिशतविन्दु घटाएर क्रमशः ४।१५ प्रतिशत र ३।५ प्रशित कायम गरेको छ। सिटिजन्स बैंकले व्यक्तिगत दर ३।८५ प्रतिशत, कुमारी बैंकले ३।७६ प्रतिशत, र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३।८ प्रतिशत कायम हुने गरी ब्याजदर घटाएका छन्।
नबिल बैंक र प्रभु बैंकले अधिकतम ४।५५ प्रतिशत व्यक्तिगत ब्याजदरसहित शीर्ष स्थान ओगटेका छन्। त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, सानिमा, माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य, र ग्लोबल आइएमई बैंकसहित कुल १५ वटा बैंकहरूले साउन महिनाकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन्। कर्जाको मागमा आएको सुस्तता र बैंकहरूमा रकम थुप्रिने क्रम जारी रहेकाले निक्षेपको लागत घटाउन बैंकहरूले ब्याजदरमा कटौतीको रणनीतिलाई नै निरन्तरता दिएका हुन्।











