रसुवा, नुवाकोट र धादिङका बीमितलाई स्वास्थ्य बीमामा सहभुक्तानी र क्यापिङ हटाइने

२२ भाद्र २०८३, सोमबार १५:४७

काठमाडौं । बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाउन स्वास्थ्य बीमा बोर्डले विशेष व्यवस्था गरेको छ।

स्वास्थ्य बीमा बोर्डको भदौ २२ गतेको निर्णयअनुसार, भदौ १० गते रसुवा जिल्लाको ल्हेन्दे खोलामा आएको अप्रत्याशित बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लालाई सरकारले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा यस्तो व्यवस्था गरिएको हो। सरकारले यी तीन जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको विषय पनि सार्वजनिक भएको छ।

बोर्डका अनुसार विपद्बाट प्रभावित नागरिकलाई स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन तोकिएका समयावधिसम्म स्वास्थ्य बीमा सेवामा लाग्ने सहभुक्तानी तथा Capping हटाइने भएको छ।

यससँगै उक्त क्षेत्रका बीमितसँग स्वास्थ्य बीमा परिचयपत्र नभएको अवस्थामा पनि सेवा प्रदायक स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको IMIS-User प्रणालीमार्फत स्वास्थ्य बीमा नम्बर यकिन गरी स्वास्थ्य बीमा सेवा उपलब्ध गराउने निर्णय गरिएको छ।

बाढीका कारण स्वास्थ्य संस्थासमेत प्रभावित भएको अवस्थामा स्वास्थ्य सेवा निरन्तरता र बीमितको उपचारमा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले बोर्डले यस्तो निर्णय गरेको हो। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा सम्बन्धित सबै पक्षलाई निर्णय कार्यान्वयन गर्न जानकारी गराएको छ। बोर्डको वेबसाइटमा पनि नुवाकोट, रसुवा र धादिङका सेवा प्रदायक स्वास्थ्य संस्थासम्बन्धी विशेष सूचना राखिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*