आइसीएफसी फाइनान्सको रेटिङ ‘ट्रिपल बी माइनस’मै सीमित, कर्जामा बढ्दो जोखिमले चिन्ता

काठमाडौँ । आइसीएफसी फाइनान्स लिमिटेडको कर्जा गुणस्तरमा दबाब बढ्दै गएको देखिएको छ। कम्पनीको समग्र निष्क्रिय कर्जा अनुपात उद्योगको औसतभन्दा कम रहे पनि पछिल्लो समय प्रारम्भिक चरणका बक्यौता कर्जामा वृद्धि भएपछि आगामी दिनमा कर्जा बिग्रिने जोखिम बढेको हो। यही अवस्थाबीच केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको जारीकर्ता मूल्याङ्कन तथा अधीनस्थ ऋणपत्रको मूल्याङ्कनलाई यथावत् राखेको छ।
केयर रेटिङ्स नेपालले आइसीएफसीलाई ‘केयर–एनपी बीबीबी माइनस’ जारीकर्ता मूल्याङ्कन दिएको छ। त्यस्तै, २० करोड रुपैयाँ बराबरको १२ प्रतिशत ब्याजदरको अधीनस्थ ऋणपत्र २०८३ को मूल्याङ्कन पनि ‘केयर–एनपी बीबीबी माइनस’मै कायम गरिएको छ। उक्त मूल्याङ्कनले वित्तीय दायित्व समयमै भुक्तानी गर्न कम्पनीमा मध्यम स्तरको सुरक्षा रहेको जनाए पनि कम्पनीलाई मध्यम कर्जा जोखिम भएको संस्थाका रूपमा चित्रण गरेको छ।
आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको सञ्चालन प्रदर्शन सन्तोषजनक रहे पनि वित्तीय क्षेत्रमा देखिएको चुनौतीपूर्ण अवस्थाले जोखिम भने कायमै राखेको छ। कम्पनीले निरन्तर नाफा कमाए पनि प्रतिफलका सूचकहरू अपेक्षाकृत स्थिर अवस्थामा छन्। पुँजीकरणमा पर्याप्त आधार रहेको भनिए पनि समग्र वित्तीय क्षेत्रमै देखिएको दबाबका कारण कम्पनीको कर्जा गुणस्तर र आम्दानी क्षमतामाथि निगरानी आवश्यक देखिएको मूल्याङ्कनमा उल्लेख छ।
कम्पनीको कूल निष्क्रिय कर्जा अनुपात उद्योगको औसतभन्दा तल रहे पनि त्यसलाई सकारात्मक पक्षका रूपमा मात्र हेर्न सकिने अवस्था छैन। पछिल्लो अवधिमा कम्पनीको कुल भुक्तानीमा ढिलाइ भएका कर्जा बढेका छन्। विशेषगरी ३० दिनसम्म भुक्तानी नभएका प्रारम्भिक चरणका कर्जामा वृद्धि देखिनुले भविष्यमा यस्ता कर्जा थप गम्भीर अवस्थामा पुग्न सक्ने जोखिम बढाएको छ।
रेटिङ संस्थाका अनुसार प्रारम्भिक चरणमा रहेका यस्ता समस्याग्रस्त कर्जालाई समयमै नियन्त्रण गर्न नसकिए ती उच्च बक्यौता तह हुँदै निष्क्रिय कर्जामा परिणत हुन सक्छन्। त्यसले कम्पनीको सम्पत्तिको गुणस्तरमा थप दबाब सिर्जना गर्नुका साथै नाफामा समेत असर पार्न सक्छ। पछिल्लो समय निष्क्रिय कर्जाको अनुपात घट्दो क्रममा रहे पनि प्रारम्भिक बक्यौताको बढ्दो प्रवृत्तिले आगामी दिनमा नयाँ निष्क्रिय कर्जा थपिन सक्ने सम्भावना कायमै राखेको छ।











