माछापुच्छ्रे बैंकको साधारणसभा असोज २८ गते, लाभांश पारित गरिने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २८औँ वार्षिक साधारण सभा असोज २८ गते पोखरामा बोलाएको छ। बैंकको असोज २ गते बसेको सञ्चालक समितिको ५६५औँ बैठकले साधारण सभा होटल पोखरा ग्राण्ड, पार्दी, पोखरामा बिहान ११ बजे गर्ने निर्णय गरेको हो।
सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित बैंकको वित्तीय विवरण तथा नाफा–नोक्सानलगायतका वार्षिक वित्तीय विवरण पारित गर्ने प्रस्ताव रहेको छ। यस्तै माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे सेक्युरिटिजसहितको बैंकको एकीकृत वित्तीय विवरण पनि सभाबाट पारित गरिनेछ।
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक र सेवाका शर्त निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ। त्यस्तै बैंकमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा अर्जुन कुमार गौतमलाई चार वर्षका लागि नियुक्त गरिएको विषयमा शेयरधनीलाई जानकारी गराइनेछ।
बैंकले घोषणा गरेको लाभांशलाई साधारण सभाबाट स्वीकृत गराउने प्रस्ताव पनि रहेको छ। जसअनुसार अग्राधिकार शेयरधनीलाई ८.२५ प्रतिशतका दरले ७ करोड ४५ लाख ८९ हजार ४१ रुपैयाँ नगद लाभांश तथा साधारण शेयरधनीलाई ३ प्रतिशतका दरले ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ।
यसैगरी साधारण शेयरधनीलाई ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ। बोनस शेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्रका सम्बन्धित व्यवस्था संशोधन गर्ने प्रस्तावसमेत रहेको छ।
सभामा संस्थापक शेयरधनीको तर्फबाट तीन जना र सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ। साथै सञ्चालक समितिको बैठक, सञ्चालकको पारिश्रमिक तथा सुविधासम्बन्धी बैंकको नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा छलफल हुनेछ।
साधारण सभा प्रयोजनका लागि बैंकको शेयर दाखिल खारेज असोज १२ गते एक दिन बन्द रहनेछ। असोज १२ गतेभन्दा अगाडि नेपाल स्टक एक्सचेन्जमा कारोबार भई तोकिएको समयभित्र शेयर रजिष्ट्रार माछापुच्छ्रे क्यापिटलमा विवरण प्राप्त भएका तथा हितग्राही खातामा शेयर कायम रहेका शेयरधनीले मात्र सभामा सहभागी भई मतदान गर्न पाउने बैंकले जनाएको छ।











