थ्रीस्टार हाइड्रोपावरले १ः१ अनुपातमा हकप्रद जारी गर्ने, तीन आर्थिक वर्षको साधारणसभा आह्वान

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले एक शेयर बराबर एक शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव अघि सारेको छ। कम्पनीले आगामी नवौँ, दशौँ र एघारौँ वार्षिक साधारणसभा आह्वान गर्दै उक्त प्रस्ताव पेस गर्ने भएको हो।
कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक गर्ने निर्णय गरेको छ। सभा असोज २७ गते काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबार प्रालिमा बिहान १० बजे बस्नेछ।
सभामा आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। साथै आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ का लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने र चालू आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि छ।
विशेष प्रस्तावअन्तर्गत कम्पनीको ठेगाना तथा पूँजी संरचना परिवर्तन गर्ने, हकप्रद शेयर खरिदसम्बन्धी हक हस्तान्तरण गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव राखिएको छ। त्यस्तै एक शेयर बराबर एक शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभाबाट पारित गराउने तयारी कम्पनीको छ।
कम्पनीले हकप्रद शेयर जारी गर्न आवश्यक पर्ने नियामकीय प्रक्रिया तथा प्रबन्धपत्र र नियमावलीमा हुने संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव आएमा त्यसअनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्तावसमेत राखेको छ।
सभाले सञ्चालक समिति गठन गर्ने तथा एक महिलासहित तीन जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि छलफल गर्नेछ। साधारण सभा प्रयोजनका लागि असोज १५ गते एक दिन बूक क्लोज रहनेछ। असोज १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा सहभागी भई मतदान गर्न पाउने कम्पनीले जनाएको छ।











