एक महिनामै विकास बैंकको नाफा ६५ करोड: मुक्तिनाथलाई पछ्याउँदै गरिमा, ५ कम्पनी ऋणात्मक

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा विकास बैंकहरूले ६५ करोडभन्दा धेरै खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार हाल सञ्चालनमा रहेका १७ विकास बैंकले चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा कुल ६५ करोड ७९ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएका हुन् ।
बैंकहरूले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा भने ५.२० प्रतिशतले कम हो । गत आर्थिक वर्षको साउन मसान्तसम्म विकास बैंकहरूले ६९ करोड ४० लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएका थिए । आर्थिक गतिविधिमा देखिएको सुस्तता तथा खराब कर्जाको दबाबबीच पनि विकास बैंकहरूको समग्र नाफा ६५ करोडभन्दा माथि देखिएको हो । समीक्षाअवधिमा ९ वटा बैंकको नाफा अघिल्लो वर्षको तुलनामा बढेको छ भने ८ वटा बैंकको नाफा घटेको छ ।
यस अवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले साउन मसान्तसम्ममा १३ करोड ३३ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.२० प्रतिशतले कम हो ।
त्यस्तै, गरिमा विकास बैंकले १२ करोड ७८ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको साउनमा १३ करोड ३९ लाख ७० हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा यस वर्ष ४.५४ प्रतिशतले घटेको हो ।
यता, महालक्ष्मी विकास बैंकले भने उल्लेख्य सुधार गर्दै १० करोड ८२ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकको नाफा ६ करोड ६ लाख ३० हजार रुपैयाँ रहेकोमा यस वर्ष ७८.५९ प्रतिशतले बढेको हो ।
साउन मसान्तसम्मको अवधिमा कामना सेवा विकास बैंकले ९ करोड ९९ लाख ५० हजार, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ९ करोड ५० लाख ७० हजार, ज्योति विकास बैंकले ८ करोड ५६ लाख ३० हजार रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले ४ करोड ७४ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ ।

साथै, मितेरी डेभलपमेन्ट बैंकले ९४ लाख ६० हजार रुपैयाँ नाफा कमाएको छ ।
लुम्बिनी विकास बैंकले भने यस अवधिमा ९१ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको ११ करोड ८ लाख रुपैयाँको तुलनामा बैंकको नाफा ९१.७५ प्रतिशतले घटेको हो ।
ग्रिन विकास बैंकले ५५ लाख १० हजार रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकले १७ लाख ७० हजार, नारायणी विकास बैंकले गत वर्ष २८ लाख ४० हजार रुपैयाँ घाटा व्यहोरेकोमा यस वर्ष ११ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, सालपा विकास बैंक यस वर्ष ५ लाख ७० हजार रुपैयाँ घाटामा गएको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंक १५ लाख ४० हजार, सिन्धु विकास बैंक ३८ लाख ३० हजार, कर्णाली डेभलपमेन्ट बैंक ८३ लाख ६० हजार, एक्सेल डेभलपमेन्ट बैंक ५ करोड २४ लाख ८० हजार रुपैयाँ ऋणात्मक रहेको छ ।











