शेयर बजार सुस्ताउँदा सरकारको खल्ती रित्तिँदै, दुई महिनामै घट्यो १ अर्ब ५० करोड राजस्व

४ आश्विन २०८३, आईतवार १८:०३

काठमाडौं । शेयर बजारमा आएको सुस्तताले सरकारको राजस्व संकलनमा समेत असर देखिन थालेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती दुई महिनामा शेयर कारोबारबाट उठ्ने पूँजीगत लाभकर उल्लेख्य रूपमा घटेको छ। साउन र भदौमा सरकारले यस्तो करबापत १ अर्ब २५ करोड ७६ लाख रुपैयाँ संकलन गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा पूँजीगत लाभकरबाट २ अर्ब ७५ करोड ७९ लाख रुपैयाँ राजस्व उठेको थियो। यस वर्षको संकलन अघिल्लो वर्षको तुलनामा ५४.४२ प्रतिशत कम हो। अर्थात् दुई महिनाको अवधिमै सेयर कारोबारबाट प्राप्त हुने सरकारी राजस्व करिब १ अर्ब ५० करोड रुपैयाँले घटेको देखिन्छ।

भदौ महिनालाई मात्रै हेर्दा भने राजस्व संकलनमा केही सुधार देखिएको छ। सीडीएससीका अनुसार भदौमा सेयर कारोबारबाट ६३ करोड २७ लाख रुपैयाँ पूँजीगत लाभकर उठेको छ, जुन अघिल्लो वर्षको भदौमा संकलित ६० करोड १४ लाख रुपैयाँभन्दा करिब ५.२० प्रतिशत बढी हो। गत वर्ष भदौमा जेनजी आन्दोलनका कारण केही दिन बजार बन्द हुँदा कारोबार प्रभावित भएको थियो।

शेयर कारोबारमा लाग्ने करको दर बढाइएको अवस्थामा पनि कुल राजस्वमा भने अपेक्षित वृद्धि हुन सकेन। बजारमा किनबेचको मात्रा घट्दा करको दर बढेको प्रभावलाई कारोबार संकुचनले नै ओझेलमा पारेको देखिन्छ। पछि सरकारले पूँजीगत लाभकरसम्बन्धी व्यवस्था पुनः समायोजन गर्दै सेयर बिक्रीबाट भएको नाफामा लगानीको अवधि हेरेर ३.५ प्रतिशत र ५ प्रतिशत कर लाग्ने व्यवस्था कायम गरेको छ।

पछिल्लो समय नेप्से परिसूचक २६४७ विन्दु आसपास झरेसँगै दैनिक कारोबार रकम पनि कमजोर बनेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*