७२ ब्रोकरको सर्भर राखिएको डेटा सेन्टरमा समस्या, नेप्सेको कारोबार स्थगित

५ आश्विन २०८३, सोमबार ११:०८

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजको नियमित सेयर कारोबार स्थगित गरेको छ। नेप्सेमा कारोबार गर्ने ७२ वटा स्टक ब्रोकर कम्पनीको सर्भर राखिएको डेटा सेन्टरमा प्राविधिक समस्या आएपछि कारोबार स्थगित गरिएको हो।

नेप्सेका अनुसार ब्रोकर कम्पनीहरूको सर्भर राखिएको डाटा हब प्रालि. मा असोज ४ गते बिहानदेखि नै प्राविधिक समस्या देखिएको थियो। समस्या समाधानका लागि पहल भइरहे पनि हालसम्म पूर्ण रूपमा समाधान हुन नसकेको नेप्सेले जनाएको छ।

यस्तो अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिम देखिएपछि आजको नियमित कारोबार सत्र स्थगित गर्ने निर्णय गरिएको हो। डेटा सेन्टरमा देखिएको समस्याका कारण कारोबार प्रणालीमै असर पर्न सक्ने अवस्था आएपछि नेप्सेले जोखिम मोलेर बजार सञ्चालन नगर्ने निर्णय गरेको हो।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत डेटा सेन्टरको समस्या तत्काल समाधान हुन नसकेको र यही अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने भन्दै आजको कारोबार स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो।

सोही सन्दर्भमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) बमोजिम आज अर्थात् २०८३ असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको जनाएको छ।

नेप्सेले कारोबार स्थगित हुँदा लगानीकर्ता तथा बजारका अन्य सरोकारवालामा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ।

नेप्सेको सिस्टममा फेरि गडबडी, कारोबार नै रोकियो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*