सस्तो ब्याजदरले घरकर्जामा उत्साह: वर्षदिनमा ३७ बैंकले दिए ५१ अर्ब ऋण, कुनले कति?

५ आश्विन २०८३, सोमबार १३:२०

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यक्तिगत घर निर्माण गर्ने गर्नेहरूको संख्या बढ्दै गएको छ । एक वर्षको अवधिमा वाणिज्य बैंक र विकास बैंकबाट ब्यक्तिगत घर निर्माणका लागि झण्डै ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको हो ।

हाल ३ करोड रुपैयाँसम्मको घर कर्जालाई व्यक्तिगत आवासीय कर्जाको रूपमा गणना गरिन्छ । ३ करोड रुपैयाँभन्दा माथिको घर कर्जा भने रियल इस्टेट कर्जामा वर्गीकृत गरिन्छ । पछिल्लो समय ३ करोड रुपैयाँसम्मको आवासीय कर्जामा उल्लेख्य वृद्धि भएको पाइन्छ । निरन्तर घटी रहेको ब्याजदरलाई मौका छोप्दै घर बनाउन ऋण लिनेको सख्या वृद्धि भइरहेको हो ।

नेपाल राष्ट्र बैङ्कको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन मसान्तसम्म आइपुग्दा वाणिज्य बैंक र विकास बैंक (जम्मा ३७ संस्था) हरूले व्यक्तिगत आवासीय घर कर्जामा ४ खर्ब ५९ अर्ब ७८ करोड ६२ लाख रुपैयाँ प्रवाह गरेका छन् । यो रकम गत आर्थिक वर्ष २०८२।०८३ को सोहि अवधिको तुलनामा १२.४५ प्रतिशत अर्थात् ५० अर्ब ९२ करोड १ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको साउन मसान्तसम्ममा बैंकहरुले व्यक्तिगत आवासीय घर कर्जा मार्फत ४ खर्ब ८ अर्ब ८६ करोड रुपैयाँ प्रवाह गरेका थिए ।

पछिल्लो समय निरन्तर ओरालो लागेको ब्याजदरलाई धेरैले घर निर्माणका लागि उपयुक्त अवसरका रूपमा लिएका छन् । केही समयअघि दोहोरो अंकमा पुगेको कर्जाको ब्याजदर हाल एकल अंक नजिक झरेपछि घर बनाउने योजना बनाएका व्यक्तिहरू बैंक धाउन थालेका हुन् । बैंकहरू पनि आवासीय कर्जामा केही लचिलो नीति अपनाइरहेका छन्, जसले माग बढाउन थप सहयोग पुगेको छ ।

वाणिज्य बैंकले वर्षदिनमा दिए ३५ अर्ब ऋण

हाल सञ्चालनमा रहेको वाणिज्य बैंकले वर्षदिनमा घर बनाउनका लागि ३५ अर्ब ८ करोड ८४ लाख रुपैयाँ कर्जा दिएका छन् । चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा वाणिज्य बैंकको व्यक्तिगत आवासीय कर्जा १०.३८ प्रतिशतले बढेर ३ खर्ब ७३ अर्ब २ करोड २१ लाख रुपैयाँ पुगेको हो ।

गत आर्थिक वर्षको साउन मसान्तसम्मको अवधिमा वाणिज्य बैंकले ३ खर्ब ३७ अर्ब ९३ करोड ३६ लाख रुपैयाँ व्यक्तिगत आवासीय कर्जा बापत प्रदान गरेका थिए ।

यसअवधिमा सर्वाधिक आवासीय कर्जा प्रभाव गर्नेमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । समिक्षा अवधिसम्ममा बैंकले ४९ अर्ब ९० करोड ४१ लाख रुपैयाँ कर्जा दिएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १५.८४ प्रतिशत अर्थात् ६ अर्ब ८२ करोडले बढी हो ।

सर्वाधिक घर कर्जा दिने दोस्रो नम्बरमा रहेको एनआईसी एशिया बैंकले ३७ अर्ब ७९ करोड रुपैयाँ प्रवाह गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने १७.८२ प्रतिशतले कम हो ।

वाणिज्य बैंकहरुमा आवासीय कर्जा सर्वाधिक वृद्धि गर्नेमा लक्ष्मी सनराइज बैंक अघि रहेको छ । गत आर्थिक वर्ष साउनको तुलनामा चालु आर्थिक वर्षको साउनमा बैंकको घर कर्जा ३७ प्रतिशत अर्थात् ५ अर्ब ७६ करोडले बढेर २१ अर्ब ३० करोड रुपैयाँ पुगेको हो ।

हेर्नुहोस् कुन बैंकले कति दिए आवासीय कर्जा ?

१७ विकास बैंकले एक अर्बमा घर बनाउन झण्डै १६ अर्ब ऋण

विकास बैंकहरुले समेत वर्षदिनमा आवासीय कर्जाका लागि १५ अर्ब ८३ करोड १७ लाख रुपैयाँ ऋण प्रदान गरेका छन् । चालु आर्थिक वर्षको साउन मसान्तसम्मको अवधिमा विकास बैंकहरुले आवासीय कर्जा २२.३२ प्रतिशतले बढाएर ८६ अर्ब ७६ करोड ४१ लाख रुपैयाँ पुराएका हुन्् ।

गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकहरुले ७० अर्ब ९३ करोड २४ लाख रुपैयाँ आवासीय कर्जाका लागि ऋण दिएका थिए ।

विकास बैंकहरु मध्य सर्वाधिक आवासीय कर्जा प्रदान गर्नेमा मुक्तिनाथ विकास बैंक पहिलो नम्बरमा रहेको छ । बैंकको घर कर्जा २१.०३ प्रतिशत अर्थात ३ अर्ब १८ करोड रुपैयाँले बढेर १८ अर्ब ३३ लाख रुपैयाँ पुगेको हो ।

गरिमा विकास बैंकको आवासीय कर्जा वर्षदिनको तुलनामा ६ अर्ब १६ करोडले बढेर १८ अर्ब २२ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

आवासीय कर्जा सर्वाधिक वृद्धि गर्नेमा नारायणी डेभलपमेन्ट बैंक अघि रहेको छ । गत साउनको तुलनामा चालु साउनमा बैंकको घर कर्जा ८७ प्रतिशतले बढेर ४ करोड १८ लाख रुपैयाँ पुगेको हो ।

हेर्नुहोस् कुन विकास बैंकले कति दिए ऋण ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*