आज नेप्सेमा कारोबार बन्द भएको विषयमा अध्ययन तथा जाँचबुझ गरी प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा धितोपत्र कारोबार स्थगन भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बोर्डले २०८३ साल असोज ५ गते प्रेस विज्ञप्ति जारी गर्दै २०८३ असोज ४ गते बिहानदेखि धितोपत्र दलाल व्यवसायीको कार्य गर्न अनुमतिपत्र प्राप्त ९२ कम्पनीमध्ये ७२ व्यवसायीको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि असोज ५ गतेका दिन धितोपत्र कारोबार स्थगन गरिएको जानकारी प्राप्त भएको जनाएको हो।
नेपालमा धितोपत्रको दोस्रो बजार सञ्चालन गर्ने प्रमुख निकायका रूपमा रहेको नेप्सेको प्रणालीमा आएको उक्त प्राविधिक समस्याका कारण कारोबार नै रोक्नुपर्ने अवस्था सिर्जना भएपछि बोर्डले घटनाको आवश्यक अध्ययन तथा जाँचबुझ गर्न नेप्सेलाई निर्देशन दिएको छ। बोर्डले यस्ता घटना आगामी दिनमा पुनः दोहोरिन नदिन आवश्यक सुधारका उपायसमेत समेटेर प्रतिवेदन तयार गरी २०८३ असोज १२ गतेभित्र पेश गर्न नेप्सेलाई निर्देशन दिएको छ।
त्यस्तै, नेप्सेबाट कारोबार स्थगनसम्बन्धी जानकारी प्राप्त हुनासाथ बोर्डले प्राविधिक लगायतका समस्या पहिचान गरी कारोबार स्थगन गर्नुपर्ने कारण पत्ता लगाउन तत्कालै निरीक्षण टोली खटाएको जनाएको छ। बोर्डका उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली गठन गरी घटनाको स्थलगत तथा प्राविधिक पक्षबाट अध्ययन अघि बढाइएको हो।











