नेप्सेमा आजदेखि नियमित कारोबार खुल्ने, ७२ ब्रोकरको डाटा सेन्टरको समस्या समाधान

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि नियमित शेयर कारोबार सञ्चालन हुने भएको छ । ७२ वटा कारोबार सदस्यका सर्भर रहेको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि नेप्सेले पूर्ववत् रूपमा कारोबार सञ्चालन गर्ने जनाएको हो ।
नेप्सेले एक सूचना जारी गर्दै ७२ कारोबार सदस्यका डाटा सेन्टरका रूपमा रहेको डाटा हब प्रालिमा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएकाले आज असोज ६ गतेदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने जनाएको छ ।
डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि मंगलबार असोज ५ गते नेप्सेले नियमित शेयर कारोबार स्थगित गरेको थियो । डाटा हब प्रालिमा असोज ४ गते बिहानदेखि नै समस्या देखिएको र समाधानको प्रयास भइरहे पनि पूर्ण रूपमा समाधान नभएपछि कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत असर पर्न सक्ने जोखिम देखिएको बताएको थियो ।
त्यसपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत कारोबार सञ्चालन गर्दा नेप्सेको प्रणालीमा क्षति पुग्न सक्ने जोखिम रहेको भन्दै कारोबार स्थगित गर्न आग्रह गरेको थियो । सोही आधारमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१) बमोजिम सोमबारको नियमित कारोबार स्थगित गरेको थियो ।
कारोबार स्थगित भएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै नेप्सेलाई घटनाको अध्ययन तथा जाँचबुझ गर्न निर्देशन दिएको छ । बोर्डले भविष्यमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक सुधारका उपायसहितको प्रतिवेदन असोज १२ गतेभित्र पेश गर्नसमेत नेप्सेलाई निर्देशन दिएको छ ।
बोर्डले घटनाको स्थलगत तथा प्राविधिक अध्ययनका लागि उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोलीसमेत गठन गरेको छ । उक्त टोलीले डाटा सेन्टरमा देखिएको समस्या तथा कारोबार स्थगित गर्नुपर्ने अवस्थाबारे अध्ययन अघि बढाएको छ । डाटा सेन्टरको समस्या समाधान भएसँगै आजदेखि नेप्सेको नियमित कारोबार पूर्ववत् रूपमा सञ्चालन हुने भएकाले लगानीकर्ताले नियमित प्रक्रियाअनुसार शेयर कारोबार गर्न सक्ने भएका छन् ।











