तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । असोज ७ गते बुधबार दुई कम्पनी र एक म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। सांग्रिला डेभलपमेन्ट बैंक, स्नो रिभर्स र सिटिजन्स सुपर ३० म्युचुअल फण्डको लाभांश तथा प्रतिफल पाउन आजसम्म शेयर तथा इकाईधनी कायम भइसक्नुपर्नेछ।
यी तीनै संस्थाले लाभांश तथा प्रतिफल वितरणका लागि भोलि असोज ८ गते बुक क्लोज गर्दैछन्। त्यसैले आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम भएका शेयरधनीले सम्बन्धित कम्पनीको लाभांश र इकाईधनीले म्युचुअल फण्डको प्रतिफल प्राप्त गर्नेछन्।
सांग्रिला डेभलपमेन्ट बैंकले असोज २२ गते काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा २२औँ वार्षिक साधारण सभा गर्दैछ। बिहान १० बजे सुरु हुने सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यस्तै स्नो रिभर्सले असोज २१ गते नक्सालस्थित लिसरा रिसेप्सन्समा पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ। बिहान साढे ८ बजे सुरु हुने सभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यसैगरी सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित सिटिजन्स सुपर ३० म्युचुअल फण्डले गत आर्थिक वर्षको नाफाबाट करसहित ५.२५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने भएको छ। उक्त प्रतिफल प्राप्त गर्न पनि आजसम्म कायम इकाईधनी हुनुपर्नेछ।











