राष्ट्र बैंकको कारबाहीमा ६ लघुवित्त,कसलाई के जरिवाना ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ।
आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले सार्वजनिक गरेको विवरणअनुसार चारवटा लघुवित्तलाई न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको भन्दै शीघ्र सुधारात्मक कारबाही गरिएको छ भने दुई संस्थालाई अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै नगद जरिवाना गरिएको छ।
न्यूनतम पुँजीकोष अनुपात नपुगेका कारण फरवार्ड लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, मातृभूमि लघुवित्त वित्तीय संस्था र एनआईसी लघुवित्त वित्तीय संस्था कारबाहीमा परेका हुन्।
राष्ट्र बैंकका अनुसार फरवार्ड लघुवित्तले २०८२ असार मसान्तमा ६.१२ प्रतिशत मात्रै न्यूनतम पुँजीकोष अनुपात कायम गरेको थियो। त्यस्तै, धौलागिरी लघुवित्तको पुँजीकोष अनुपात ६.३८ प्रतिशत, मातृभूमि लघुवित्तको ४.०८ प्रतिशत र एनआईसी लघुवित्तको ६.३९ प्रतिशत रहेको थियो। नियामकीय मापदण्डअनुसार अनुपात कायम नभएपछि बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ बमोजिम कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी वीन नेपाल लघुवित्त वित्तीय संस्था, बनेपा–काभ्रेपलाञ्चोकलाई २०८२ चैतमा अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै पहिलो पटक रु. ५६ हजार ३८० नगद जरिवाना गरिएको छ।
सञ्जीवनी लघुवित्त वित्तीय संस्था, तुलसीपुर–दाङलाई भने २०८२ चैत, २०८३ वैशाख, जेठ र असारमा अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै क्रमशः रु. ७१,३८०, रु. १,०६,७४०, रु. १,४१२.९१ र रु. १,४१०.७८ नगद जरिवाना गरिएको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।











